मापदण्ड पूरा नगर्ने ६८ स्वास्थ्य संस्थामाथि कार्बाही गर्न काठमाडौं मेयरको चेतावनी

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विपन्न एवं लक्षित वर्गहरुलाई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध नगराउने  ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न माग गरेका छन्।  

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर कामनपाभित्र रहेका अस्पतालहरुलाई महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मेयर  साहले माग गरेका छन्। 

मेयर साहले मन्त्रीले ७ दिन भित्र ति अस्पतालालाई कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने पनि बताएका छन्। बुधबार सामाजिक संजालमा स्टाटस राख्दै मेयर साहले यस्तो बताएका हुन्।  

उनले लेखेका छन्- 'काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०।०२।०६ गते सार्वजनिक सूचना जारी भैसकेको छ । नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ। स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने  ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौं। यदि मन्त्रीज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं।'

प्रतिक्रिया