प्रधानमन्त्री भारत भ्रमणमा निस्कने दिन राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले  बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा निस्कने दिन राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्।

नागरिकता विधेयक प्रमाणीकरण गर्नुअघि राष्ट्रपति पौडेलसँग भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान भेटेका थिए।  भेट लगत्तै राष्ट्रपति पौडेलले नागरिकता विधेयक पनि प्रमाणीकरण गरेका हुन्। 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राखेको नागरिकता विधेयक नयाँ राष्ट्रपति पौडेललाई प्रमाणिकरण गर्न सरकारले १२ जेठमा अनुरोध गरेको थियो।

नागरिकता विधेयकलाई लिएर दलहरुको स्पष्ट नीति देखिँदैन, सबैले राजनीतिक स्वार्थ अनुसार यसको अर्थ लाउने गरेका छन्।

यसैगरी राससका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

हालसम्म उक्त विधेयक ऐन बन्नका लागि प्रमाणीकरण नभएकाले विभिन्न अवस्था र स्थितिसमेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको यही जेठ १२ गतेको निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्को कार्यालयको पत्रबाट लेखी आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको थियो।

प्रतिनिधिसभाका तत्कालीन सभामुखबाट साउन १५ गते प्रमाणित गरी तत्कालीन राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश भएको थियो। केही विषयमा ध्यानाकर्षणसहित पुनर्विचारका लागि सङ्घीय संसद्मा फिर्ता पठाइएकोमा ध्यानाकर्षण गराइएका विषयमा संघीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाइएको थियो।  

Citizenship

प्रतिक्रिया