गजल मुशायरा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

काठमाडौँ । अध्ययन, अनुसन्धान, प्रशिक्षण, प्रतियोगिता एवं मुशायरालगायतका कार्यक्रमहरू गर्दै नेपाली गजलको उन्नयन गर्ने उद्देश्यले २०७८ को अन्त्यतिर संस्थापना गरिएको नेपाल गजल प्रतिष्ठानले २०८० जेठ १३ गते राष्ट्रिय नाचघर, जमलमा गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रममा गजल विधाका अथक साधक त्रय आवाज शर्मा, डा. प्रदीप कुमार मैनाली एवम् शान्ति शर्माले आफ्ना ५/५ ओटा र नवोदित युवा गजल साधक विनोद बिम्वित, आर्य आयुषा एवम् परिविक्रमका १/१ ओटा गजल तहत र तरन्नुम शैलीमा सुमधुर तबरले प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाली गीत, सङ्गीत एवम् काव्य विधाका मुर्धन्य व्यक्तित्वहरू, विविध संस्थाका प्रतिनिधिहरू, पत्रकार लगायत गजल प्रेमीहरू गरी करिब २०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा युवा गजल साधक परिविक्रमद्वारा लिखित गजल संग्रह "अङ्कमाल"को लोकार्पण समेत गरिएको छ । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ, आवाज शर्मा, डा. प्रदीप कुमार मैनाली ,शान्ति शर्मा र परिविक्रमद्वारा संयुक्त रूपमा लोकार्पण गरिएको गजल संग्रह "अङ्कमाल" संस्थाले २०७९ सालमा आयोजना गरेको विश्वव्यापी गजल प्रतियोगितामा गजलकार परिविक्रम प्रथम भएकाले पुरस्कार स्वरूप प्रतिष्ठानद्वारा प्रकाशन गरिएको हो । सो समारोहमा गजल साधक एवम् समीक्षक भुवन निश्तेजले २० ओटा मतला, ६० ओटा फर्द र ८० ओटा गजल संग्रहित "अङ्कमाल" गजल संग्रहभित्रका गजलहरूको संक्षेपमा समीक्षा गरेको थिए । 

पुस्तक विमोचन र गजल वाचन गरी दुई खण्डमा विभक्त यस कार्यक्रमको पहिलो खण्डको सहजीकरण गजलकार एवम् प्रतिष्ठानका कानुनी सल्लाहकार आँचल कुमार शर्मा र दोस्रो खण्डको सहजीकरण पूर्व प्राज्ञ धीरेन्द्र प्रेमर्षिद्वारा गरिएको थियो। कार्यक्रममा ९ जना गजलकारहरूको एकएक ओटा मतला कार्यक्रम संयोजक प्रेमर्षिद्वारा प्रस्तुत गरिएका थिए । 

युवा गजल साधक विनोद बिम्वितको प्रविधि संयोजनमा आँचल कुमार शर्माद्वारा संयोजित यस कार्यक्रमका परिकल्पनाकार प्रतिष्ठानका सचिव गजलकार अनजान यात्री थिए। कार्यक्रमको मिडिया पर्टनरको रूपमा युनिभर्सल टेलिभिजन प्रा. लि, एवम् प्रायोजकमा भायनेट प्रा. लि, नेपाल वायु सेवा निगम एवम् बुद्ध एयर प्रा. लि. रहेका छन्।

प्रतिक्रिया