आज दुवै सदनको संयुक्त बैठक

संसद जाँदा कस्तो होला राष्ट्रपतिको सवारी?

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज पहिलोपल्ट सम्बोधन गर्दैछन्।

देशको तेस्रो राष्ट्रपति चुनिएपछि पौडेलको पहिलो संसदीय सम्वोधन हुने छ। उनी तनहुँ निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए, गठबन्धन सरकारको समर्थनमा उनी राष्ट्रपति निर्वाचित भएका हुन्। 

राष्ट्रपति निर्वाचित भएलगत्तै एक सांस्कृतिक कार्यक्रममा भएको पौडेलको सवारी विगतजस्तो भड्किलो राजशी नभएर साधारण देखिएकामा सर्वसाधारणले उनको प्रशंषा गरेका थिए। आज संसदको संयुक्त सदनलाई सम्वोधन गर्न शीतल निवासबाट नयाँबानेश्वरस्थित संसद भवन जाँदा राष्ट्रपतिको पौडेलको सवारी कस्तो हुनेछ भनेर सर्वसाधारणले तिव्र प्रतिक्षा गरिरहेको देखिन्छ। विगतका राष्ट्रपतिहरुले रिसल्लामा सवारी गर्दा सार्वजनिक यातायात अवरुध्द गरी सर्वसाधारणको आवागमनलाई नराम्ररी प्रभावित गरेकाले तिखो आलोचना खेप्नुपरेको थियो।

नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकलाई पौडेलले सम्बोधन गर्ने भएकाले दुवै सदनका सदस्यको उपस्थिति आह्वान गरिएको छ।  

सङ्घीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ। सो बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन्।

राष्ट्रपतिको सम्वोधन सकिएपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने कार्यतालिका छ। 
 
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को  दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन्। सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने छ। 

प्रतिक्रिया