नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुख पनि तानिनसक्ने

काठमाडौं। नक्कली भुटानी शरणार्थीे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि तानिनसक्ने बुझिएको छ। यो प्रकरणको बिजारोपण भएदेखि नजिकबाट नियालेको एक सूत्रले बताए अनुसार तत्कालिन गृह सचिव राई यसमा उम्कन नसक्नेगरी जवाफदेही छन्।

अख्तियारको प्रमुख आयुक्त भइसकेपछि नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गर्नुपर्ने फायल अगाडि नबढाई मुल्तवीमा पठाएकामा पनि राई यसको अनुसन्धान प्रक्रियामा छुट्नै नहुने पात्र भएको सूत्रको दावी छ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्री रहेका रामबहादुर थापा ‘बादल’ यो प्रकरणमा मुछिएका छन् भने उनका पुत्र पनि दोषी ठहरिएका छन्। शरणार्थी शिविरहरुमा बाँकी रहेका भुटानी शरणार्थीको तथ्यांक अद्यावधि गरेर विदेश पठाउने सरकारको नीतिको चरम दुरुपयोग गर्दै नेपाली नागरिकलाई नै नक्कली भुटानी बनाएर विदेश पठाउने गुप्त योजना त्यतिबेलै बनाईएको कुरा खुलिसकेको छ। जसमा कार्यदल गठन गर्दादेखि नै नक्कली शरणार्थी बनाउने योजनाका व्यक्तिहरुको प्रभावमा परेर कार्यदल बनाईएको प्रष्ट भैसकेको छ। गृह सचिव रहेका राईकै अग्रसरतामा पन्थी कार्यदल बनाईएको थियो।
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका नेता र केही बिचौलिया हिरासतमा छन् भने अरु केही गुप्तवासमा छन्। वर्तमान अख्तियार प्रमुख राई यस प्रकरणको अनुसन्धान क्रममा महत्वपूर्ण स्रोत व्यक्ति भएकाले उनीसँग प्रारम्भमा सोधपुछ हुनेमा कुनै शंका नरहेको समाचार सूत्रको दावी छ।

यही प्रकरणमा दोषी देखिएर प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु समेत प्रहरीको निगरानीमा भएपनि हाल उनी फरार छिन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समानुपातिक सांसद आरजु राणा देउवाले आफूमाथि लागेको आरोपको जोडदार खण्डन गर्दै आएकी छन्। आफ्ना एकमात्र पुत्र र पतिको समेत कसम खाएर आरजुले नक्कली शरणार्थी प्रकरणमा आफू कहिंकतै संलग्न नरहेको जिकिर पेश गर्दै आएकी छन्।
 
 

प्रतिक्रिया