काठमाडौँ, २ जेठ : सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ ।
न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो । जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि सुनुवाइपछि सफाइ दिन नपर्ने फैसला उल्लेख गर्दै उक्त आदेश गरेको हो ।
अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च दिपायलले ठहर गरेको पाँच वर्ष कैद सजायलाई घटाएर तीन वर्ष सजाय ठहर गरेको जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक संसद्बाट पास हुनुअघि नै अदालतले दोषी ठहर हुने फैसला गरेको छ ।
चौधरी हाल डिल्लीबजार कारागारमा जन्मकैदको सजाय काटिरहेका छन्। हाल नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका उनले उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारू समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। सो हिंसात्मक घटनाका मुख्य आरोपित रेशम चौधरी ठहरिएका थिए। उनलाई जिल्ला अदालत कैलालीले पनि जन्मकैदकै सजाय सुनाएको थियो।
यही मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो। सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला सदर हुने ठहर गरेको छ।
सर्वोच्चले यही घटनामा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ। उच्च अदालत दिपायलले उनीहरुलाई जन्मकैद र ज्यान मार्ने उद्योगको आरोपमा ५–५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।(रासस)
प्रतिक्रिया