काठमाडौं महानगरः अब आफ्नै वडामा स्वास्थ्य परीक्षण र निःशुल्क औषधि

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गरेको छ। महानगरवासीलाई वडा तहमै निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यले तयार गरिएको कार्यविधि स्वीकृत भएपछि महानगरका सबै वडामा यो सेवा विस्तार गर्न मार्गप्रशस्त भएको महानगर स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए।

महानगरपालिकाको १५औँ कार्यपालिका बैठक कार्यविधि स्वीकृत गरेको हो।

अहिले महानगरका ८ वटा वडामा शहरी स्वास्थ्य प्रवध्र्दन केन्द्र स्थापना गरेर निःशुल्क उपचार गरिरहेको विभाग पौडेलले जानकारी दिए। 

‘पहिले ३२ वटै वडामा भएका स्वास्थ्य क्लिनिकमध्ये ६ वटाको स्तरोन्नति गरी प्रवर्धन केन्द्रमा रूपान्तरण गरेका छौं,’ पौडेल भन्छन्, ‘दुई साताअघि मात्रै वडा नम्बर ७, ८, १४ र २६ मा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याएका छौं। अन्य सबै वडामा बिस्तारै शहरी स्वास्थ्य प्रवर्धन केन्द्र विस्तार हुनेछ।’ 

महानगरका शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले महानगरवासीलाई आधारभूत स्वास्थ्य सुविधा उपलव्ध गराउने व्यवस्था गरेको छ।

त्यस्ता स्वास्थ्य केन्द्रमा चोट पटक लागेको ठाउँमा ड्रेसिङ, नवजात तथा बालरोगको एकीकृत व्यवस्थापन र खोप सेवा, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा र सरकारले निःशुल्क दिने औषधि उपलव्ध गराईन्छ। 

केन्द्रले आफ्ना वडावासीको डिजिटल स्वास्थ्य प्रोफाइल बनाउने, जेष्ठ, अपाङ्ग, दीर्घ रोगी लगायतलाई घरमै पुगेर स्वास्थ्य सेवा पनि दिने गरेको प्रमुख पौडेल बताउँछन्।

केन्द्रमा परिवार नियोजनका विभिन्न साधनसँगै प्रजनन स्वास्थ्य परामर्श सेवा, दिसा पिसाब र रगत परीक्षण, भिडिओ एक्स–रे र इसिजी सेवा प्रदान गर्ने गरेको छ।

‘बी स्तरको ल्याब टेस्टबाट हुने सम्पूर्ण जाँच हुन्छ। जसमा मुटु, कलेजो किड्नीका आधारभूत परीक्षण हुन्छ,’ पौडेल भन्छन्, ‘केन्द्रमा उपचार गर्न सम्भव नहुने बिरामी भए ठूला अस्पताल जान सिफारिस गरिन्छ।’

महानगरले पहिलेदेखि नै वडा १९ र ३० मा  केन्द्रबाट सेवा सुविधा दिँदै आएको थियो।  वडा नम्बर १९ को नमूना गुम्बामा रहेको केन्द्र महानगरकै पहिलो शहरी स्वास्थ्य प्रवर्धन केन्द्र हो।  

घर नजिकै लाइनमा नबसी सेवा पाइने हुँदा पनि धेरै मानिसहरूले स्वास्थ्य प्रवर्धन केन्द्रबाट सुविधा लिइरहेका छन्।

सुगर, प्रेसर लगायतका बिरामीहरू औषधि मात्रा बढाउने कि घटाउने हो भनेर सल्लाह लिन पनि केन्द्रमा पुग्ने गर्छन्। अहिले प्रत्येक महिना पाँच सय हाराहारीमा वडावासीहरूले सेवा लिइरहेको बताईएको छ।

पहिले नेपाल सरकारबाट निःशुल्क पाउने ९८ किसिमका सबै औषधि नपाउने समस्या भए पनि अब त्यो समस्या नहुने स्वास्थ्य विभाग प्रमुख पौडेल बताउँछन्। 

‘पहिले ९८ किसिमका औषधि कतिपय ठाउँमा पाइने गरेको थियो भने कतिपयमा पाइँदैन थियो,’ पौडेलले भने, ‘अब भने समयमा नै महानगरवासीले मागेको समयमा सबै ठाउँमा औषधि पाइने व्यवस्था गरेका छौं।’ 

महानगरका बाँकी सबै क्लिनिकलाई स्वास्थ प्रवर्धन केन्द्रमा रूपान्तरण गरिने प्रमुख पौडेलले जानकारी दिए। त्यसका लागि अरु ९ वटा वडामा केन्द्र स्थापना गर्न पूर्वाधारको काम चलिरहेको उनको भनाई छ।  

‘जेठ महिनाभित्र १५ वटा वडामा प्रवर्द्धन केन्द्र विस्तार गर्ने योजना अनुरूप काम गरिरहेका छौं,’ उनले भने।

हरेक केन्द्रमा एक मेडिकल अफिसर (डाक्टर), नर्स,  फिजियोथेरापिष्ट, ल्याब टेक्नोलोजिष्ट, रेडियोग्राफर, हेल्थ असिसस्टेन्स (एचए), फार्मासिस्ट लगायत जनशक्ति हुन्छ।

महानगरले चालु आर्थिक वर्ष नै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि भने १४ करोड बजेट छुट्याएको थियो। सोही अनुसार अहिले काम भइरहेको पौडेलले बताए।

यस्तै, महानगरको स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गर्न काम भइरहेको छ। पाँच जनाको परिवारको लागि ३५०० रुपैयाँ पर्ने र त्यसको ५० प्रतिशत महानगरले नै व्यहोरिदिने गरी बिमा कार्यक्रम ल्याउन लागिएको छ। 

प्रमुख पौडेलका अनुसार एक शहरी प्रवर्द्धन केन्द्र चलाउन महिनाको लगभग ९ लाख रुपैयाँ खर्च हुन्छ। 

'महानगरमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि झन् सजिलो हुन्छ,’ उनले भने, 'स्वास्थ्य र शिक्षा भनेको आधारभूत कुरा हुन्। जसलाई महानगरले आवश्यकतामा राखेर काम गरिरहेको छ।’

गत शनिबारदेखि महानगरले २४ सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा समेत सुरू गरेको छ।  
 

प्रतिक्रिया