समाचार टिप्पणी

दशैं भत्ता फिर्ता गर्ने खाण कसरी मुछिए नक्कली शरणार्थी प्रकरणमा?

काठमाडौं। तीन वर्षअघि दशैं भत्ता फिर्ता गरेका थिए बालकृष्ण खाणले, जुनबेला उनी नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए।

२०७७ सालको दशैं भत्ता फिर्ता गर्दा खाणले ‘अहिलेको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाइ भोगिरहेकाले भत्ता लिनु उचित नहुने’ कारण खुलाएका थिए।

त्यतिबेला संसद सचिवालयलाई भत्ता फिर्ताका लागि पत्र लेख्दै खाणले भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएको भनेर टिप्पणी पनि गरेका थिए। सांसदले पाउने दशैं भत्ता नियमसंगत सुविधा मानिँदैआएको छ।

‘मलाई प्राप्त भएको दशैं भत्ताबापतको रकम संसद सचिवालयमार्फत् जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने ब्यहोरा जानकारी गराउँदछु’, खाणले फिर्ता पत्रमा लेखेका थिए। उनले उक्त रकम सरकारी कोषमा जम्मा हुने व्यवस्था मिलाउन पनि अनुरोध गरेका थिए।

हिजो त्यस्तो आज यस्तो

त्यसपछि सत्ता परिवर्तन हुँदैजाँदा खाण गृहमन्त्री पनि भएर देशको गृह प्रशासनमा राजकाज गरे। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा थालिएको भुटानी शरणार्थीको विवरण अपडेट गर्ने क्रममा नक्कली शरणार्थी बनाएर अकूत सम्पत्ति जोरजाम गर्ने राजनीतिक संरक्षणको गिरोह सक्रिय भएपछि यी खाण पनि प्रभावमा परेको नेपाल प्रहरीले दसी फेला पारेपछि उनलाई हिरासतमा लिएको बताईएको छ।

खाणकी पत्नी मञ्जु र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नक्कली शरणार्थी कारोबार गर्ने गिरोहसँग हिमचिम बढेपछि तत्कालिन गृह प्रशासन लाचार बनेको जानकार सूत्रहरुले बताएका छन्।

बालकृष्ण खाण सभापति देउवाका घनिष्ठ सहयोगी रहीआएका नेता हुन्। नेपाल विद्यार्थी संघ हुँदै माउपार्टी नेपाली कांग्रेससम्मको राजनीतिक करिअरमा यी दुई नेताको सहकार्य टुटेको देखिँदैन। यही कारण उनीहरुका पत्नी आरजु र मञ्जुको पनि सहकार्य कसिलो बन्दै गएको हो, जसले पतिहरुको प्रभावको पर्याप्त लाभ उठाउँदै  राजकाजमा दख्खल दिन कुनै कसर बाँकी नराखेको कुरा चर्चामा आई नै रहेको थियो। राजकाजमा दख्खल दिन यी दुइ नारीको स्वार्थ मिलेको देखिन्छ। यही राजनीतिक दवदवाको लाभ उठाउँदै दुवैले नेपाली कांग्रेसको भागमा परेको समानुपातिक सांसद पद हात पारेका थिए।

रुपन्देहीका चिनारु र कांग्रेस सर्कलका मानिसहरु खाणलाई ‘सोझा नेता’ मान्छन्। फरक बिचारका मानिस पनि उनलाई लोकतन्त्रका लागि समर्पित जुझारु नेता ठान्छन्। तर उनको गृहस्थ जीवन सुरु भएसँगै खाण टिकाटिप्पणीको पात्र बन्न थालेको बताईन्छ। नक्कली भुटानी शरणार्थी कारोबार प्रकरणमा उनकी पत्नीले भारी ठूलो रकम हात पारेको दावी सहितको अडियो सार्वजनिक भएपछि भने खाणलाई प्रहरीले अनुसन्धानमा नतानी सुख नपाएको गृहसँग सम्बध्द एक अधिकारी बताउँछन्। प्रमाणित हुन बाँकी नै रहेको अडियो प्रमाण सही ठहरिएमा दुवै समानुपातिक सांसदले हिरासतको वास बस्नुपर्ने ती अधिकारीको भनाई छ।

ती अधिकारीका अनुसार, सांसद आरजु र मञ्जुलाई अनुसन्धानमा निपुण एक टोलीले निकै नजिकबाट पछ्याईरहेको छ। उनीहरु चौबिसघण्टे निगरानीमा रहेका छन्।

कांग्रेसमा खैलाबैला

बालकृष्ण खाण हिरासतमा परेसँगै नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ। पर्टीभित्र उपल्लै तहका नेतामा गणना हुने खाणलाई नै निवासमै पुगेर प्रहरीले गिरफ्तार गरेपछि नक्कली शरणार्थी प्रकरणमा कोही पनि बच्न नसक्ने संकेतका रुपमा लिएर पार्टी नेतृत्वले सतर्क रहनुपर्ने भन्दै कांग्रेस सर्कलमा कानेखुशी सुरु भएको बुझिन्छ।

महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा भैरहेको प्रहरी अनुसन्धानलाई पूर्ण रुपमा सहयोग गर्नुपर्ने भनिसकेका छन्। यसमा नेपाली कांग्रेस पार्टी र कुनैपनि तहका नेताले दवाव दिने किसिमका हर्कत गर्न नहुने उनीहरु भनाई छ। महामन्त्री शर्माले त प्रतिनिधि सभाको बैठकमै नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘फायल खोज्ने मात्र होइन फायर नै खोल्नुपर्छ’ भनेर सरकारलाई ढाडस दिईसकेका छन्। त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पनि यो अनुसन्धानमा कुनै किसिमको दख्खल दिन नहुने भन्दै संलग्न देखिएका जो कोही भएपनि कानुनको कठघरामा उभ्याउनै पर्ने माग गरिसकेका छन्।

तर नेता अर्जुनरसिंह केसीले भने नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्न आयोग गठन हुनुपर्छ भनेर फरक धारणा राखेका छन्। उनको धारणा सार्वजनिक भएसँगै विगतका कुनै पनि चर्चित घटनाको छानविन गर्न गठन भएका आयोग अर्थहीन भएकाले त्यतातिर लाग्दा अलमल मात्र हुने भन्दै चर्को आलोचना भैरहेको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा वार्ता गर्न गएका सभापति देउवाले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा एक शब्द प्रकट गरेका छैनन्। न त्यस पार्टीका प्रवक्ताले नै कुनै औपचारिक धारणा नै सार्वजनिक गरेका छन्। तर व्यक्तिगत रुपमा बोलिरहेका नेताले भने यो चर्चित प्रकरणको स्वतन्त्र र निष्पक्ष छानविन हुुनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्।

आफूले नियमसंगत पाएको दशैं भत्ता समेत संसद सचिवालयमा फिर्ता गरेका नेता बालकृष्ण खाण कसरी मुछिए नक्कली भुटानी शरणार्थी प्रकरणमा भनेर नेपाली कांग्रेसभित्र भने गम्भीर चर्चा भने चलिरहेको देखिन्छ।
 
 
 

प्रतिक्रिया