काठमाडौँ, २२ वैशाख: सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उहाँको भनाइ छ ।
दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।
काठमाडौँ, २२ वैशाख: सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ ।
सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।
उहाँले भन्नुभयो, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।”
माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ ।
“हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भन्नुभयो । (रासस)
प्रतिक्रिया