काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद्ले जानकारी दिए।
काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको छ। आज काठमाडौँसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ।काठमाडौँ उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडौँ उपत्यकामा भएको छ। काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलीमिटर पानी परेको तथ्याङ्कले देखाएको छ। पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ। हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ।
भोलि सोमबार पनि मधेस प्रदेशका एक–दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। (रासस)
प्रतिक्रिया