प्रधानमन्त्रीले बुझ्न नसकेको के हो ओलीको गुनासो?

काठमाडौं। प्रमुख दलका नेताहरु प्रधानन्यायाधीश नियुक्तिको बिषयमा सहमतिमा पुग्न नसक्दा संवैधानिक परिषदको बैठक बस्न सकेको छैन। सहमतिका लागि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भैरहेका बैठक निर्णयमा पुग्न सकिरहेका छैनन्। प्रधानमन्त्रीले यो कुरा बुझ्न नसक्दा अनिर्णयको बन्दी बन्नु परेको निकटस्थ सहयोगीसँग बताउने गरेका छन्।

कार्यबाहक प्रधानन्यायाधीशको भूमिकामा रहेका हरिकृष्ण कार्कीलाई नै प्रधानन्यायाधीश बनाउन सिफारिस गर्ने लगभग निश्चित भएपनि एमाले अध्यक्ष ओलीको केही गुनासो हट्न नसकेकाले सहमतिमा पुग्न नसकिएको एक उच्च समाचार सूत्रले बताएको छ। तर ओलीले यसबारेमा खुलेर आफ्ना कुरा पनि राखेका छैनन्।

तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि महाअभियोग लागेका बेला उनलाई हटाउन भएको कानून व्यवसायीको आन्दोलनका बेला अध्यक्ष ओलीको सल्लाहको उपेक्षा गरिएको कुरा ओलीले बिर्सिहाल्न नसकेकाले अहिले भैरहेको सहमतिको प्रयाशले गति पक्रन नसकेको सूत्रको भनाई छ।

यसै बिषयमा सहमति खोज्न प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीवीच आज पनि  भेट भएको छ।

प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन्।

संवैधानिक परिषद्मा सहमति जुट्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन। प्रधानमन्त्री दाहालले बुधबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका थिए। बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि निर्णय हुन सकेन। (फाईल तस्बिर)

प्रतिक्रिया