पूर्व राजा एक महिना नेपालगञ्ज बस्ने, सुदूरपश्चिम र कर्णाली घुम्ने

काठमाडौं। सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुको भ्रमण गर्ने उदेश्यले पूर्व राजा ज्ञानेन्द्र शाह एकमहिना नेपालगञ्जमा बस्ने तयारीमा रहेको थाहा भएको छ। 

पूर्वराजाका सचिव सागर तिमिल्सेना त्यसकै पूर्व तयारी गर्न नेपालगञ्ज पुगेका समाचार सूत्रले जनाएको छ। सचिव तिमिल्सेनाले नेपालगञ्जमा राजावादी पार्टी, भातृ संगठन, हिन्दुवादी संघ संस्था तथा व्यक्तिसँग छलफल गरिरहेको बुझिएको छ।

यसवीच नेपालगञ्जको बागेश्वरी मन्दिरमा गरिने महाआरतीमा सहभागी हुँदै अन्य गतिविधिमा पनि सरिक हुन पूर्वराजा शाहलगायत तत्कालीन राजपरिवारको सदस्यहरु नेपालगञ्ज पुग्ने तयारी भएको बताईएको छ। उनीहरु बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम बनाइएको छ।

यसका साथै पूर्वराजाको नागरिक अभिनन्दन गर्ने उदेश्यले राजावादी समूहहरु जुटेका छन्। 

नेपालगञ्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गर्ने गरिएको छ। महाआरतीमा दिनप्रति दिन भक्तजनको घुँइचो लागिरहेको छ। पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधौ भीड हुने गर्दछ।

 

प्रतिक्रिया