भारतको सत्तारुढ दलको विश्वास जित्न प्रधानमन्त्री दाहाल र सांसद आरजु सक्रिय

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालको सुदूरपश्चिम प्रदेश आएका छन्।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन्। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरेका थिए।

चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र सोमबार काठमाडौँ आएर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आइपुगेका हुन्। 

नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु देउवासँग राखी बन्धन गरेका चौथाईवाले देउवा दम्पतिको आतिथ्यमा काठमाडौं बसेर राजनीतिक भेटवार्तामा सरिक हुने बुझिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा परमादेशपछि बनेको सरकारका पालामा आरजुकै संयोजनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली पुगेर भारतीय जनता पार्टीका नेताहरुसँग भेटेका थिए। जसको स्थानीय प्रवन्ध भाजपा नेता चौथाईवालेले गरेका थिए। 

नेपालमा भरपर्दो राजनीतिक मित्रको खोजीमा रहेको भाजपालाई विश्वासमा लिन प्रधानमन्त्री दाहाल र सांसद आरजु देउवाले चौथाईवालेको मन जित्ने प्रयाश गरिरहेको जानकार सूत्रले बताएको छ। यही उदेश्यले धनगढीमा मानसखण्ड सम्मेलन आयोजना गरिएको एक उच्च समाचार सूत्रले दृश्य टिभीसँग बतायो।

(तस्बिर: सामाजीक सञ्जालबाट)

प्रतिक्रिया