शीर्ष नेता सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउन सहमत

काठमाडौं। प्रमुख तीन ठूला दलबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । 

बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषय र प्रक्रियामा पुनः छलफल गर्ने सहमति भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। 

सो विधेयकलाई अगाडि बढाउने, सदनलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेको संयोजनमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेता छलफलमा जुटेका हुन्। शीर्षनेताहरु सङ्घीय संसद्का संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुङ्गो लगाउन सहमत भएको उनको भनाइ छ। 

अर्को बैठक आगामी वैशाख १ गते अपराह्न १ बजे सिंहदरबारमा बस्ने सहमति भएको छ। 

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए।

त्यसैगरी, बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता थियो। 

प्रतिक्रिया