नैतिक प्रश्नहरुको घेरामा रबि लामिछानेको रास्वपा

काठमाडौं। पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेको चर्चाको बलमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निधारमा विवादको अर्को टिका थपिएको छ। पहिलो टिका उनै रबि लामिछानेले लगाएका थिए। उनकै नेतृत्वको दल रास्वपाका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका ढाकाकुमार श्रेष्ठले अस्पताल सञ्चालकसँग रकम मागेको विवरण प्रकाशमा आएपछि दोस्रो टिका थपिएको छ।

नयाँ पार्टी स्थापना गरेर उल्लेख्य संख्यामा प्रतिनिधि सभा सदस्य जिताउन सफल भएका रबि लामिछाने सत्ताको शिखरमा यसरी चढेका थिए, उसैगरी जमीनमा झरे लुँडोको सर्पले छेरेजसरी। उनी आफैं गम्भीर प्रश्नहरुको घेरामा परेका छन्, जसलाई न्यायिक निरुपणको आवश्यकता पर्दछ। न्यायालयले यसको छिनोफानो गर्ने प्रक्रिया अगाडि बढाईरहेको छ।

रबिको नेतृत्वमा रहेको रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो सार्वजिनक भएपछि उनलाई पार्टीले निलम्बलन गरेको छ। श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग घुस मागेका थिए भनेर त्यसको विवराण आइतबार सार्वजनिक भएको हो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अडियो सार्वजनिक भएकाले तत्कालका लागि सांसद र पार्टी सदस्यबाट श्रेष्ठलाई निलम्बन गरिएको जानकारी दिएका छन्।

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाउँदै प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेको अडियो रेकर्डमा उल्लेख छ। उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका रहेछन्।

उपनिर्वाचनको पूर्वसन्ध्यामा आएको यो विवादाष्पद अडियो रेकर्डले रास्वपालाई निकै असर पुग्ने निश्चित छ। दलको नेतृत्व नै कानूनी अल्झनमा परिरहेको अवस्थामा रास्वपाले अर्को गम्भीर नैतिक प्रश्नसँग जोडिएको विवादमा मुछिनुपरेको छ। विभिन्न पेशा व्यवसायको पृष्ठभूमिबाट रातारात प्रतिनिधि सभाको सदस्य नै बन्न सफल भएका रास्वपाका अरु सदस्यलाई समेत यो नयाँ विवादले तनावमा पारेको छ। 
 

प्रतिक्रिया