सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठकमा विश्वासको मत लिनेबारे छलफल गर्दै त्यसपछि मन्त्री मण्डल विस्तार गर्ने सहमति बनेको छ। 

सोमबार प्रधानमन्त्रीलाई विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति गर्दै मुलुकको समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा पनि छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
  
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालm नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता थियो।

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो। 

प्रतिक्रिया