नतिजामुखी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, १६ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजले अनुभूत गर्ने गरी नतिजामुखी काम गर्न मन्त्रालय र मातहत निकायलाई निर्देशन दिनुभएको छ । आमजनताले मन्त्रालयबाट योजना कार्यक्रम र विचार मात्रै हैन त्यसअनुरुपको परिणामको अपेक्षा गरेको भन्दै मन्त्री कार्कीले मुलुकवासीको भावनालाई जोड्नका निम्ति युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सञ्चार मन्त्रालयद्वारा आज आयोजित चालु आव २०७८/०७९ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सञ्चारमन्त्री कार्कीले अर्को समीक्षा बैठकमा परिणाम देखिने गरी उत्साह, इमान्दारी र प्रतिबद्धताका साथ काम गर्न आग्रह गर्नुभयो ।

            उहाँले भन्नुभयो, “सरकारले कामको मूल्याङ्कन गर्र्छ अब, हामी १०–५ को कार्यालय समय ‘डिउटी’ हैन हामीले आफ्नो लिएको जिम्मेवारीलाई पूरा गर्नका निमित्त केही समय पूरै समय ‘फुल टाइम’ दिऊँ । यो हाम्रो देश र सन्ततिका निमित्त हुनेछ, आत्मसमीक्षा र मूल्याङ्कन गरी कार्ययोजनाका साथ अघि बढौँ त्यसका निमित्त म सधैँ तपाईंहरुको साथमा रहनेछु ।”

     सञ्चारमन्त्री कार्कीले अहिले विश्व ग्लोबल भिलेजका रूपमा विकास भएको भन्दै हामीले पनि मुलुकवासीको भावनालाई जोड्न सञ्चार र सूचनाको क्षेत्रमा युद्धस्तरमा काम गरेर हिमाल, पहाड र तराईमा बस्ने जनतालाई प्रत्याभूत गराउन सक्नुपर्नेमा जोड दिनुभयो । “अब मलाई पनि छुट छैन । तपाईंहरुलाई पनि छुट छैन । जिम्मेवारीलाई पन्छाएर कामलाई विलम्ब गर्ने छुट हामी कसैलाई छैन । यदि हामी परिणाम दिन सक्दैनाँै भने ओहोदामा बस्नुको औचित्य पनि छैन”, सञ्चारमन्त्री कार्कीले भन्नुभयो, “निकै काम भएकामा हामी सन्तोष गर्न सक्छौँ तर अहिले सन्तोष गर्ने बेला हैन, हामीले परिणाम देखाउने बेला आएको छ, सवाल र समस्याको पहिचान भइसकेकाले समाधानतर्फ ध्यान दिऊँ ।”

फोरजी सेवालाई प्रभावकारी बनाऊँ

            सञ्चारमन्त्री कार्कीले नेपाल टेलिकमको चौथो पुस्ताको सेवा फोरजी विस्तारमा विलम्ब भएको र सेवा सुदृढीकरणमा ध्यान नदिएकोप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “टेलिकमको सेवामा किन समस्या आयो, अन्य निजी क्षेत्रका संस्थाले गर्नसक्ने हामीले किन गर्न नसक्ने त्योभन्दा बढी जनशक्ति र स्रोत साधन टेलिकममा छ तर परिणाम किन आएन ?  टेलिकमले फोरजी सेवामा रु २० अर्ब खर्च गरेको छ सेवा प्रभावकारी हुनसकेको छैन यसतर्फ सरोकारवाला गम्भीर हुन जरुरी छ । फोरजीको काम पूरा नगरी फाइभजीको कुरा गर्नुको के अर्थ हुन्छ ।”

गोरखापत्र र नेटिभीलाई प्रतिस्पर्धी र प्रभावकारी बनाइनुपर्छ

            सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले इतिहास बोकेको गोरखापत्र संस्थानलाई अन्य प्रकाशनगृहसँग प्रतिस्पर्धी बनाउन र नेपाल टेलिभिजनलाई प्रभावकारी बनाउन जरुरी भएको बताउनुभयो । उहाँले ती संस्थाभित्र प्रशासनिक तथा आर्थिक समस्या भएमा समाधान गरेर संस्थालाई प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभयो ।

साइबर सुरक्षालाई बलियो बनाइनुपर्ने

            सञ्चारमन्त्री कार्कीले मुलुकको साइबर सुरक्षालाई बलियो बनाउन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । अहिले हाम्रो सूचनामाथि नै आक्रमण हुनसक्ने खतरा बढिरहेको भन्दै उहाँले साइबर प्रणालीलाई सुरक्षित गर्नका निमित्त कस्ता व्यवस्था अवलम्बन गर्नुपर्छ त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कोभिड महामारीपछि अनलाइन प्रणालीको प्रभावकारिता बढेको र यसलाई शहर केन्द्रित मात्रै नगरी दूरदराजका बालबालिकाले पनि अनलाइन कक्षा लिने वातावरण सिर्जना गर्न अनुरोध गर्नुभयो ।

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध

            सञ्चारमन्त्री कार्कीले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले प्रेस स्वतन्त्रतालाई सबैभन्दा महत्व दिएको छ, प्रेस स्वतन्त्रतालाई कामय राख्नमा जुनसुकै योगदान गर्न तयार छ तर प्रेस स्वतन्त्रताका नाममा जुन किसिमको प्रवृत्ति देखा परेको छ, त्यसतर्फ मन्त्रालयले ध्यान आकृष्ट गरेर मर्यादित र स्वतन्त्र प्रेसलाई अघि बढाउन जरुरी छ ।”

            कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले १५ औँ पञ्जवर्षीय योजनामा आबद्ध सञ्चार मन्त्रालयअन्तर्गतका महत्वपूर्ण कामलाई परिणाममुखी बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले इतिहास बोकेको तर हाल रुग्ण अवस्थाको हुलाक सेवालाई विविधीकरण गरी प्रभावकारी बनाउन मन्त्रालयले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । सदस्य सिंहले ‘डिजिटल नेपाल फ्रेमवर्क’ गेम चेन्जर परियोजना भएको र आधुनिक युगमा यसले नेपालको मुहार फेर्ने भन्दै यस कार्यलाई प्रभावकारीरूपमा अघि बढाई विश्वबजारमा प्रस्तुत हुन सक्नुपर्छ भन्नुभयो ।

            सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले मन्त्रालयले लिएका लक्ष्यअनुरूप कामलाई परिणाममुखी बनाउन सम्बद्ध सबै निकायलाई आग्रह गर्नुभयो । उहाँले मन्त्रालयअन्तर्गतका निकायमा बेरुजु फछ्र्योट निकै चुनौतीपूर्ण रहेको भन्दै यसलाई तदारुकताका साथ अघि बढाउन ध्यानाकर्षण गराउनुभयो । सचिव अर्यालले मन्त्रालयअन्तर्गतकै निकायबीच प्रभावकारी समन्वय नहुनु, वित्तीय प्रगति र भौतिक प्रगतिको तालमेल नमिल्नुले पनि लक्ष्यअनुरुप प्रगति हासिल हुन नसकेको भन्दै सरकारी स्वामित्वका राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्र संस्थानले आर्काइभको कामलाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । चालु आवको अन्तिममा सबै मन्त्रालयअन्तर्गतका सबै निकायले वित्तीय विवरण व्यवस्थित गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

            मन्त्रालयका अनुसार प्रथम त्रैमासिक अवधिको विनियोजन र खर्चको विवरणमा चालु आव २०७८÷०७९ मा चालुतर्फ रु पाँच करोड २२ लाख ६२ हजार, पूँजीगततर्फ रु एक अर्ब ९६ लाख ३६ हजार, वित्तीय व्यवस्थातर्फ ५० लाख विनियोजन भएकोमध्ये चालुतर्फ जम्मा १८ दशमलव पाँच प्रतिशत खर्च भएको छ । मन्त्रालयको पूँजीगततर्फ शून्य दशमलव ८५ प्रतिशत मात्रै खर्च भएको छ । जम्मा रु एक करोड २८ लाख ८६ हजार चालुतर्फ र पुँजीगततर्फ रु दुई करोड २७ लाख आठ हजार विनियोजन भएकामा मन्त्रालयले एक दशमलव ८९ प्रतिशत मात्र खर्च गरेको छ ।

            समग्रमा मन्त्रालयको प्रथम त्रैमासिक अवधिको भौतिकतर्फ ८४ दशमलव ४२ प्रतिशत र वित्तीयतर्फ ८६ दशमलव ४४ प्रतिशत प्रगति रहेको छ । यो अवधिमा चालुतर्फ रासस, प्रेस काउन्सिल र रेडियो नेपालले सतप्रतिशत खर्च गरेका छन् । मन्त्रालयअन्तर्गत विभिन्न निकायमा रु चार अर्ब पाँच करोड बेरुजु रहेको छ । तीन महिनाको अवधिमा बेरुजु फछ्र्योट शून्य दशमलव २४ प्रतिशत छ ।(रासस)

प्रतिक्रिया