समाचार टिप्पणी

नयाँ गठबन्धन: पुष्पकमलको पासमा शेरबहादुरको गोल!

काठमाडौं। सत्ताका सबै पदबाट हात धुनुपरेकामा हतप्रभ भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खेलको भाषामा भन्दा 'कमब्याक' गरेका छन्। गएको पुस १० को दिनले अपरान्हको सीमा टेक्ननपाउँदै उनले सम्भावित सबै पदबाट पार्टी वञ्चित हुनुपरेको पीडादायी परिस्थिति सामना गर्नुपरेको थियो। यसको मुख्य कारण थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। प्रतिनिधिसभाको निर्वाचन सकिँदासम्म आफ्नो नेतृत्वको गठबन्धनमा रहेका दाहालले एमालेको 'अफर'मा धोका दिएपछि देउवालाई ठूलै राजनीतिक झड्का लागेको थियो।

भनिन्छ समय नै बलवान हुन्छ, भयो पनि त्यस्तै। नयाँ सरकारले तेस्रो महिना नदेख्दै सत्ता समीकरण बदलिएको छ र नेपाली कांग्रेस देशकै सर्बोच्च पद राष्ट्रपतिको दावी गरेर सो पद हासिल गर्न लगभग सफल भएको छ। फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेललाई आफू समेत आठ दललको समर्थन जुटाएर एकमात्र उम्मेदवार बनाउन सफल भएको छ। यो तिव्र राजनीतिक ध्रुवीकरणको मुख्य कारण बन्न पुगेका छन् उनै पुष्पकमल दाहाल जसले दुइ महिनाअघि नेपाली कांग्रेसलाई पिठ्यँु देखाईदिएका थिए। धोका दिएका उनै दाहालको बदलिएको भूमिकाकै कारण सभापति देउवा राजनीतिको शक्ति केन्द्रमा 'कमब्याक' हुन सफल भएका हुन्।  

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलचाल नै बन्द गरेका नेता माधवकुमार नेपाललाई शिखण्डी बनाएर देउवा र दाहाललाई तीर मार्न प्रयाश नगरेका होइनन्। तर पटक पटकको धोकाधडीबाट तर्सिएका दाहालले नै नेपाललाई ओलीको हात पर्नबाट जोगाएका हुन्। यसै पनि नेपाल लामो समययता ओलीको नाम सुन्दैमा सतर्क हुनथालेका थिए। अहिले पुरानै गठबन्धनको पुनस्थापनामा आफूले सरकारको नेतृत्व पाउने वचन पाएपछि नेपालले एमाले अध्यक्षको आश्वासनलाई 'सुनकेस्रा रानीको कथा' झैं एक कानले सुन्ने अर्को कानले उडाउने शैली अपनाईदिएका छन्।

नेपाली कांग्रेसको मागलाई समर्थन गर्दैगर्दा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई गतिलै धोका दिएका छन् जसरी यसअघि नेपाली कांग्रेसलाई दिएका थिए। जे भएपनि प्रतिनिधिसभाको निर्वाचन पछिको राजनीतिमा तेस्रो शक्ति बनेको माओवादी केन्द्रका अध्यक्ष दाहाल नै निर्णायक खेलाडी प्रमाणित भएका छन्। उनले आफूलाई कतैबाट पनि घेराबन्दीमा नपर्ने गरी सुरक्षित पार्न सफलता हासिल गरेका छन्। नेपाली कांग्रेस र एमालेवीच सत्ता समीकरणको नयाँ गठबन्धन नबनेसम्म दाहाललाई कसैले पनि घेराबन्दीमा पार्न नसक्ने परिस्थिति निर्माण भएको छ भन्दा अन्यथा हुनेछैन।

एमालेसँग निर्वाचनमा सहकार्य गरेर दाहाल नेतृत्वको सरकारमा समेत सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेको घोषणा गरेको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टी के गर्छ निर्णय आईसकेको छैन।

सरकारबाट बाहिरिने निर्णय गरिहाल्यो भने एमाले पनि सत्ताका धेरै स्थानबाट बञ्चित हुने निश्चित छ। प्रतिनिधिसभाको सभामुख एमालेले हात पारिसकेको छ भने राष्ट्रिय सभाको अध्यध्य पनि उसैसँग छ। तर प्रदेशको नेतृत्व तत्कालै फेरबदल हुनसक्छ, त्यसका लागि बाटो पनि खुलिसकेको छ। 

अब यसपछिका दिनहरुमा नयाँ गठबन्धनको एकता बनिरहन सक्यो भने एमाले संसदका प्रमुख प्रतिपक्ष हुने छ। 

प्रतिक्रिया