हात्तीपाइले रोगविरुद्ध अभियान

लुम्बिनी। लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित पिपरी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो अभियान शुभारम्भ गरे ।

दाङ, कपिलवस्तु र बाँके जिल्लामा सुरु गरिएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । अभियान सुरुवात कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री इन्द्रजीत चौधरी, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पनि उक्त औषधि सेवन गरे ।

हात्तीपाइले विरुद्ध यो औषधि दुई वर्ष उमेर पूरा गरेका सबैले खानुपर्छ तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीले भने औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

तालिम प्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा सार्वजनिकस्थलमा औषधि खुवाइने भएकाले आफूलाई पायक पर्ने ठाउँमा पुगेर औषधि सेवन गर्न मुख्यमन्त्री गिरीले सबैसँग आग्रह गरे । औषधि सेवनले मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी भए नस्ट गरी रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने यस्तो रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निने र मानिसको ज्यान पनि जानसक्ने सम्भावना रहन्छ ।

अहिले पनि ती तीन जिल्लामा हात्तीपाइले विरुद्धको अभियान सफल हुनसकेको छैन । औषधिको असरबारे गलत बुझाइले औषधि नखाइदिँदा अभियान सफल हुन सकेको थिएन । छ वर्षभित्रै रोग उन्मूलन गर्ने लक्ष्य राखिएको यी जिल्लामा आजदेखि औषधि सेवन अभियान चलाइएको हो ।

यी तीन जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सुरु गर्दा सङ्क्रमणको दर २९ प्रतिशत रहेकामा अहिले घटेर चार प्रतशितमा झरेको छ । बाँकेमा हात्तीपाइले रोगको सङ्क्रमणको दर चार प्रतिशत र कपिलवस्तुमा आठ प्रतिशत छ । परीक्षणमा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएमा जोखिम न्यून नभएसम्म औषधि सेवन अभियान हरेक वर्ष चलाइन्छ । यसवर्ष यी तीन जिल्लामा करिब साढे १९ लाखभन्दा बढीलाई औषधि खुवाइँदैछ । दाङमा छ लाख ८७ हजार, बाँकेमा छ लाख १६ हजार र कपिलवस्तुमा साढे छ लाख जनसङ्ख्यालाई औषधि खुवाउने लक्ष्य छ । (रासस) 

प्रतिक्रिया