उदेश्य विपरित बलुवाटारमा के को वातचित!

काठमाडौं। जुन उदेश्यले बैठक डाकिएको थियो त्यसमा प्रवेश नै नगरी सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक टुंगिएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। नयाँ राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारेमा सहमति खोज्न भनेर संयन्त्रको बैठक डाकिएको भएपनि त्यसमा प्रवेशनै नगरी तपसिलका बिषयमा अनौपचारिक वातचित गरेर नेताहरु उठेका थिए।
 
भावी राष्ट्रपतिको उम्मेदवार छान्न भनेर छलफल गर्ने भनि बैठक बोलाइएको भएपनि अन्य समसामायिक विषयमा मात्र वातचित भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए।

मन्त्रिपरिषद् विस्तार, सुदूरपश्चिम सरकारमा एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएका सन्दर्भमा र नागरिक उन्मूक्ति पार्टीका नेता रेशम चौधरीको रिहाई बारेमा छलफल भएको ती सदस्यले जानकारी दिए। 

नागरिकता विवाद काण्डको असरले भर्खरै सरकार छाडेको  राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमै फर्काउने विषयमा पनि छलफल भएपनि निर्णय भने कुनै विषयमा हुन नसकेको बुझिएको छ।

 त्यसैगरी सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि भने बैठकमा  सहभागी थिएनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमात्र बैठकमा सहभागी थिए। 

बैठक बस्नुअघि संयन्त्रका संयोजक ओली र प्रधानमन्त्री दाहालले छुट्टै गोप्य छलफल गरेका थिए।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्छ भनी धारणा दोहोर्याईरहेका छन्। उनको यो धारणासँग संयन्त्रका संयोजक ओली भने सतर्क देखिन्छन्। ओलीले राष्ट्रिय सहमतिको उम्मेदवार हुनुपर्छ भनेर दाहालले के भन्न चाहेका हुन् भनेर आफूले बुझ्न नसकेको भनेर व्यंग गर्दै आएका छन्। विपक्षी दल नेपाली कांग्रेस भने प्रधानमन्त्रीको धारणासँग नजिक देखिन्छ तैपनि उ आफ्नै पार्टीको नेतालाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रयत्नशील रहेको देखाईरहेको छ। 

अर्कातिर एमाले चैं सरकार बनाउँदा नै राष्ट्रपति पद आफूले पाउने सहमति गरिएकाले अन्यथा गर्न नहुने तर्क अघि सारिरहेको छ।
 

प्रतिक्रिया