दर्शकदीर्घाबाट: विश्वप्रकाशको व्यंगमा प्रधानमन्त्री हाँसेपछि...

काठमाडौं। प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले संविधानले नचिनेको उच्च स्तरीय राजनीतिक सन्यन्त्र बनाएर त्यसको नेतृत्व गर्नु भनेको प्रधानमन्त्रीलाई पिँजरामा राख्ने नियत हो भनेर व्यंग गर्दा अग्रस्थानमा बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल कुम उचालेर हाँसेको देखियो।

सांसद शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक संयन्त्र बनाएर आफू संयोजक बसेर प्रधानमन्त्रीलाई पिँजराभित्र बन्द गरेजसरी नियन्त्रण गर्न चाहेको भनेर व्यंग कसेका थिए। यही भनाई सुनेपछि प्रधानमन्त्री दाहाल हाँसेका थिए।

प्रतिनिधिसभाको सभामुख निर्वाचन गर्न प्रस्तावमाथि पक्षविपक्षवीच छलफल गर्ने क्रममा यस्तो भनाई राख्दै सांसद शर्माले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नै भएको बताए।  

नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्ताव गर्दै शर्माले संसद्को चाहना अनुसार नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको पनि सम्झिए। ‘हामीले ढोक्सा थापेका छैनौँ’ भन्दै उनले कांग्रेसले माछा मार्न ढोक्सा थाप्यो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीलाई बाँधिएको पिँजडामा नराख्न आग्रह गरे। 

हिजो सरकार सञ्चालनको उच्च स्तरीय संयन्त्र बनाउने कुरामा संविधानले नचिनेको संयन्त्र भनेर आलोचना गरेका एमाले अध्यक्ष ओली आज त्यही संयन्त्रको संयोजक बनेका छन्।

ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकामा नेपाली कांग्रेसप्रति आशंका व्यक्त गरिसकेका छन्। 

प्रतिक्रिया