परराष्ट्रको जिम्मेवारी पाएकी बिमला को हुन्?

काठमाडौं। नेकपा एमालेले आफ्नो भागमा परेको परराष्ट्र मन्त्रालयको जिम्मेवारी डा.विमला राई पौड्याललाई दिएको छ। राष्ट्रिय सभाकी सदस्य बिमलाले परराष्ट्र मन्त्रालयमा हाजिर जनाईसकेकी छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुसँगको परामर्शपछि दलीय भागबण्डाको सहमति अनुसार मंगलबार मन्त्रीपरिषद विस्तार गरेका हुन्। एमालेले पाएको परराष्ट्र मन्त्रालयमा महिला सांसदलाई अवसर दिईएको छ। 

राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको शपथ लिएलगत्तै नवनियुक्त मन्त्री बिमलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर काम थालिसकेकी छन्।

मन्त्रीको आसनमा बसेपछि बिमलाले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने सम्वाददाताहरुसँग बताईन्। उनले नेपालको हितमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने र विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीहरुको सहज पहुँच बनाउने प्रतिबद्धता जनाईन्।

मन्त्री बिमलाले राहदानीको सहज वितरणका लागि आफूले ध्यान दिने तर सीमा समस्याबारे अहिले नै हतार नगर्ने भनिन्।

को हुन् बिमला

मन्त्री बिमलाले नेदरल्याण्डको इन्ष्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’ मा विद्यावारिधि गरेकी छन्। उनले संयुक्त अधिराज्यको म्यानचेस्टर विश्वविद्यालयबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा पनि स्नातक गरेकी छन्।

यसअघि बिमलाले राष्ट्रिय योजना आयोगको सदस्य र राष्ट्रपति कार्यालयको विज्ञको रुपमा समेत काम गरिसकेकी छन्।
 

प्रतिक्रिया