अकाल मृत्युबाट बच्न जाडोमा योगको योगदान

योग जाडो महिनामा मात्र होईन, हर मौसममा आवश्यक छ। सधै योग गर्दा निरन्तर यसको लाभ प्राप्त भैरहन्छ। चिसो मौसम वा जाडो महिनामा योग झन् अपरिहार्य नै छ, जसबारे यो आलेखमा चर्चा गरिनेछ। योग भन्नाले शरीर स्वस्थ्य बनाउन गरिने योगाभ्यास, मनोभाव संन्तुलित बनाउन गरिने प्राणायाम र आत्मानन्दको लागि गरिने ध्यानको समग्र प्याकेज हो। योग विज्ञानले बताए बमोजिमको जीवनशैली अपनाउनेलाई योगी भनिन्छ। 


बल गरेर कसैलाई भोगी वा रोगी बनाउन सकिन्छ तर योगी वा जोगी बनाउन सकिन्न। जोगी बनेर घरबार छोडेर योगको मार्गमा हिँड भन्नु मूर्खता हुनसक्छ। बरु मानिस जुन मार्गमा हिँडीरहेको छ, त्यसमै योग अपनाउन प्रेरित गर्नुपर्छ। बाहिरको भोक नमेटिई भित्रको योग कहाँ रु 


मान्छेले आँखा चिम्लेर स्वयं भित्र हेर्ने हो भने संसारमा आफ्नो भोक के के मा छ,  तुरुन्तै थाहा पाईहाल्छ, जे जे भित्र छ त्यै त्यै फन्फनी फन्फनी घुमिरहेको हुन्छ। योग जातपात, धर्म, सम्प्रदाय, बर्ग, उमेर, भौगोलिक सीमाको संकीर्ण घेरा भन्दा माथि छ। योग सबैलाई काम लाग्ने सार्वभौम र सनातन विषय हो। 


शरीर सबैसँग हुन्छ, सबै स्वस्थ्य बन्न चाहन्छन्। श्वास सबैले फेर्छन्। श्वासको आयाम बढाउँदा सबैलाई फाईदा पुग्छ। भावना सबैसँग हुन्छ। भाव सन्तुलनमा राख्नु सबैको लागि राम्रो कुरा हो। योग गर्न समय, उमेर, लिङ्ग, बर्गआदि केही कुराले छेक्न सक्तैन। आधुनिक चिकित्साले रोगको उपचार गर्छ, रोगको बारेमा परामर्श

YOGA 1

दिन्छ तर योगले स्वास्थ्यको परामर्श दिन्छ, विकार निस्काशन गर्छ, रोग नै लाग्न नदिने वातावरण तयार गर्दछ। 


जाडोमा योगको महत्व


हिउँद महिनामा जाडोका कारण शरीर निस्कृय हुन्छ। यसले शरीरमा आलस्य बढ्दै जान्छ।  जसले गर्दा शरीरको तौल बढ्छ र शरीरमा बोसो बढ्न थाल्छ। परिश्रम कम हुँदा पसिना कम निस्किन्छ। हुस्सु कुहिरो, घाम ढिलो लाग्ने र चिसो सिरेटोका कारण मानिसहरु घर भित्रै बस्छन्। घरको काम नगर्ने यस्ता शहरीया विलासी ओछ्यान समेत छोड्दैनन्। शरीरका रक्तसंचार, श्वासप्रश्वास र स्नायुतन्त्रमा शिथिलता आउँछ। हातखुट्टा चिसा हुन्छन्। शरीर बाहिर निस्केका अंगहरु नाक, कान चिसा हुन्छन्। 


त्रिविकारमध्ये बाथ र कफको समस्या बढ्दछ। रगत बाक्लो हुन्छ। मुटु सम्बन्धी रोगले च्याप्छ। जाडो मौसममा ह्यदयाघात, साईनस, कफ, टन्सील, रुघाखोकी, दम र निमोनिया हुने संभावना हुन्छ। अस्पतालमा यसप्रकारका विरामीको चाप बढ्छ। खासगरी किशोर किशोरी ओछ्यान वा सोफामा ब्लांकेट ओढेर डिजीटल डिभाईसमा झुमेका हुन्छन्। शारीरिक निष्कृयताले उनीहरुका हातखुट्टा चिसा हुन्छन्। स्वस्थ्य मानिसको लक्षणका सम्बन्धमा हिन्दीमा एउटा भनाई छ- 'हातपाउ गरम, पेट नरम र शिर ठंडा' हुनुपर्दछ। राम्रोसँग रक्तसंचार नभएकाले शरीरको केन्द्रबाट टाढा रहेको हात र खुट्टामा पर्याप्त प्राणशक्ति नपुगेका कारण यो चिसो हुने हो। 


जस्तोसुकै जाडोमा पनि शरीरको गर्मी बनाईराख्न योग भन्दा अर्को उत्तम विकल्प छैन। बाक्ला लुगा लगाउनु, सिरक ब्लांकेट ओढ्नु, पटक पटक तातोपानी चिया कफी पिउनु, आगो ताप्नु, हिटर र एयरकन्डिसनको तातोमा भर पर्नु सबै बाहिरबाट न्यानो प्राप्त गर्ने प्रकृया हुन्। शरीरको आफ्नै तापबल नभए पछि बाहिरका सुविधा जतिसुकै थोपरे पनि जाडो भई नै रहन्छ। भित्रबाट शरीरको तापक्रम बढाउन योग गर्नु अति आवश्यक छ। योग अन्तर्गत गरिने शक्ति संचालन, योगासन, प्राणायाम र ध्यानको अभ्यासबाट शरीरमा तापबल प्राप्त हुन्छ। योग गर्दागर्दै योग अभ्यासीले यो कुरा अनुभव गर्न सक्छन्। 


योगका सिद्ध पुरुषहरुले कम भन्दा कम कपडा लगाउने कारण यही नै हो। शरीर कति मजबूत भएको हुन्छ भने जाडो र गर्मीबाट उनीहरु अप्रभावित रहन्छ। सबैभन्दा प्राकृतिक र निःशुल्क उपाय भनेको घाम ताप्ने र योग गर्नु नै हो। सूर्यकिरण ताप्नु। योगबलबाट शरीरमा न्यानोपन कायम राख्नु बढी लाभदायक छ। शरीरमा न्यानोपनको सन्तुलन सूर्य नाडीले गर्दछ। सूर्यभेदी प्राणायामले सूर्य नाडी सक्रिय बनाउँछ। कपालभाती प्राणायामले पेटको अग्नी जठराग्नी सक्रिय बनाउँछ।

भस्त्रिका प्राणायाम र नमस्कार प्राणायामले पुरै शरीरमा तापमान प्रशारित गर्दछ। शरीरमा भित्रैबाट तापमान सन्तुलित भएमा चिसोको एलर्जी, श्वासप्रश्वासको संक्रमण, गलाको खोकी, सर्दीज्वरो, रुघा, पिनास आदिबाट मुक्ति मिल्छ। योगले शरीर सुगठित बनाउने मात्र होईन प्राणशक्ति सुदृढ हुन्छ। आन्तरिक अङ्गहरु सबल बन्छन्। अन्तष्करणमा दृढता प्राप्त हुन्छ। मनोभाव सन्तुलित हुन्छ। स्नायुतन्त्र, नाडीतन्त्र, श्वासतन्त्र, रक्तसंचार लगायत शरीरका सबै प्रणालीलाई सक्रिय र सन्तुलित बनाउँछ। 


जाडो मौसममा बाहिर हुस्सु कुहिरो लाग्छ। श्वासमार्फत फोक्सो र मस्तिष्कमा चिसो पस्छ। हिँड्ने सुरक्षित पेटि नभएकोले मर्निङ्ग वाकमा निस्कनु ठीक मानिएको छैन। वायु प्रदुषणका कारण शहरिया क्षेत्रमा बाहिर हिँड्न उपर्युक्त नभएको मेडिकल चिकित्सकले अनुरोध गरिरहेका छन्। चिकित्सकले बरु घरमै बसेर योगध्यान गर्नुस् भनेर योग केन्द्रहरुमा रिफर गरेका ब्यक्तिहरु जीवन विज्ञान प्रतिष्ठानद्धारा संचालित योगध्यान प्रयोगशालामा जोडिन आएका छन्। 


जाडोमा हात, खुट्टा, कान, नाक चिसो हुने र रातो हुने गर्छ। योग गर्ने मान्छेका हातखुट्टा ताता हुन्छन्। शरीर चिसो हुने समस्या झेल्नु पर्दैन। योगाभ्यास गर्नु अगाडि शरीर तताउन्, जीवन उर्जा उर्ध्वगमन गराउन योगिङ जगिङ गरिन्छ, यसलाई शक्ति संचालन भनिन्छ। जस्तोसुकै जाडोमा पनि यो क्रिया गर्दागर्दै पुरै शरीर तातेर आउँछ। अनुहार तापको रापले धपक्क हुन्छ। 


जाडो महिनामा योग नै किन बढी महत्वपूर्ण छ भन्ने तथ्य वायु प्रदुषणका केही आँकडाले प्रष्ट पारेको छ। चिसो मौसममा वायु प्रदुषण बढ्न थाल्छ। सामान्यतया वायु गुणस्तर मापन १०० वा सो भन्दा कम हुनुपर्नेमा वायु प्रदुषण मापन केन्द्रले भने अनुसार काठमाडौं उपत्यकालगायत अन्य प्रमुख शहरी क्षेत्रमा १५०–२०० को हाराहारी छ। हावामा मिसिने धुलोको कण नाप्ने सूचक पिएम १० को मात्रा ११३ र कार्वन मनोअक्साईड सल्फर नाईट्रोजन अक्साईड जस्ता हानिकारक ग्यासको मात्रा मापन गर्ने पिएम २.५ को मात्रा १०६.९ माईक्रोग्राम (क्युविक मिटर) मापन गरिएको छ। 


जाडो मौसममा हावा चिसो हुन्छ, चिसो हावाको घनत्व बढी हुन्छ। तातो हावाजस्तो सहजै उडेर जान सक्दैन। चिसोले रक्तनलीलाई खुम्च्याउँछ। यसले गर्दा रक्तचाप बढ्ने संभावना हुन्छ। रक्तचापमा बृद्धिले हृदयाघातको संभावना रहन्छ। यस्तो प्रदुषणले एलर्जी, हृदयाघात, मधुमेह जस्ता समस्या हुने गर्छ। ग्लोवल एयर रिपोर्ट, २०२० ले प्रत्येक बर्ष नेपालमा ४२ हजार १०० जनाको प्रदुषणको कारण मुत्यु हुन्छ भनेको छ। प्रदुषणको कारणले हुने मुटुरोग लाग्ने कारणमा २४ प्रतिशत र फोक्सोको रोगलाग्ने कारणमा ६६ प्रतिशत वायु प्रदुषणको हात हुन्छ। अतः धेरै जनालाई एकोहोरो हिँडिरहने मर्निङ्ग वाक सजिलो लागे पनि वायु प्रदुषण भएको ठाउँमा मर्निङ्ग वाक गर्नु उपयुक्त छैन। 


धेरैलाई शारीरिक र मानसिक रुपमा सक्रिय र स्वस्थ्य बन्न योग गर्नुपर्छ भन्ने थाहा छ। कोठाभित्र बसेर गर्न सकिने विधि भए पनि योग गर्दा विभिन्न क्रिया गर्न झन्झट लाग्छ। बरु एकहोरो हिँड्न सजिलो हुन्छ भन्ने कुरा ब्यक्त गरेको पाईन्छ। मर्निङ वाकमा हिँड्दा शरीर त हिँडिरहेको हुन्छ, मन भने बाहिरका कुरामा केन्द्रित हुन्छ। अनि यसबाट पाउनुपर्ने जती लाभ प्राप्त हुँदैन। योग गर्दा मन, शरीर र चेतनालाई एकत्रित गराउने प्रयास गरिन्छ। मन, शरीर र चेतना एक भई कुनै कर्म गर्दा त्यसको कर्मफल पूर्णतामा उपलब्ध हुन्छ। योगले तनोवल, मनोवल, भाववल, चित्तवल र आत्मावल बढाउँछ। रोग प्रतिरोधी क्षमता बढाउँछ।   

(लेखक जीवन विज्ञानमा योगध्यान साधक तथा प्रशिक्षक हुन्) 

प्रतिक्रिया