संस्कार र संस्कृति

टुँडिखेलमा माघी महोत्सवको रमझम

काठमाडौं। थारु समुदायको मुख्य पर्व माघी पर्वको रौनक सुरु हुनलागेको छ। काठमाडौंको टुँडिखेलमा आजबाट माघी महोत्सव सुरु हुँदैछ।

परम्परादेखि चल्दै र मानिदै आएको यो पर्व राजधानीमा पनि धुमधामसँग मनाउने चलन छ। यही अवसरमा आजबाट माघी महोत्सव आयोजना गरिएको हो। थारू कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा आयोजना गरिएको महोत्सव माघे संक्रान्ति अर्थात् माघ एक गतेसम्म चल्नेछ। 

महोत्सवमा थारु सांस्कृतिक झाँकी, र्‍याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री गरिनेछ। मोटरसाइकल र्‍याली निकालिने र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम राखिएको थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले जनाएको छ।

महोत्सवमा थारू समुदायले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ। थरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत गरिनेछ।

यो महोत्सवमा राजधानीमा बसोबास गर्ने देशका सबैजसो भूभागका मानिसहरु सहभागी भएर रमाईलो गर्ने चलन छ।

प्रतिक्रिया