पर्दाभित्रको राजनीति

प्रचण्डले दौरासुरुवाल लाउने योजना पाँचतारे होटलमा, यस्तो छ अन्तरकथा

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दौरासुरुवाल लगाएको नेपाली जनताले पहिलोपटक देख्न पाए। शपथ ग्रहणमा सहभागी हुन राष्ट्रपति कार्यालय शीतल निवास जाँदा ‘प्रचण्ड’ दौरा सुरुवालमा ठाँटिएका थिए। 

हिंसात्मक ‘जनयुध्द’ बिसाएर पहिलो पटक बालुवाटारमा प्रकट हुँदा ‘प्रचण्ड’ र उनका कमरेडहरु उग्रमुद्रामा खरानी रंगको पेन्ट र सर्टमा थिए। त्यसपछि पनि उनीहरुले दौरासुरुवाललाई एकल जातीय पहिचानको पोशाक भनेर लान्छना लाउँदै तिरस्कार गरिरहे। 

यसपटक नाटकीय रुपमा प्रधानमन्त्री हुनपुगेका ‘प्रचण्ड’ ले कसरी दौरासुरुवाल पहिरिए त भन्ने कुराको अन्तरकथा रोचक छ।

गृहजिल्ला चितवन छोडेर निर्वाचन लड्न गोरखा जानु, गोरखाबाट सांसद जितेर काठमाडौं फर्केपछि प्रधानमन्त्री हुन जोड गर्नु र पुरानो समीकरण लत्याएर नयाँ समीकरणबाट प्रधानमन्त्री हुनु अनि शपथ लिन जाँदा दौरासुरुवालमा ठाँटिनु सामान्य घटना मात्र नभएको गोरखास्थित एक सूत्रले बताएको छ।

को हो सूत्रधार?

असलमा ‘प्रचण्ड’ चितवनबाट निर्वाचनमा प्रतिष्पर्धा गर्न तयारी गर्दै थिए। उनले त्यसका लागि पैतृकथलोमा बसोबासको प्रवन्ध पनि गरिसकेका थिए। तर अचानक ‘प्रचण्ड’ ले गोरखाबाट निर्वाचन लड्ने कुरा चर्चामा ल्याईयो। उनी गोरखा गए, सांसद बनेर काठमाडौं फर्किए। अहिले उनी नयाँ गठबन्धनमा प्रवेश गरेर प्रधानमन्त्री पनि बनिसकेका छन्।
 
‘प्रचण्ड’ को यो अन्तरकथा थाहा पाएको एक सूत्रले बताए अनुसार, उनलाई चितवनबाट गोरखा सार्ने काम बेलायत र अमेरिकामा बलियो पहुँच भएका एकजना विजन पन्त नाम गरेका नेपालीले गरेका हुन्। विजन पन्त पनि गोरखाकै बासिन्दा हुन्, उनी नेपाली कांग्रेसकी नेता कमला पन्तका भाई हुन्। यिनै विजन पन्तले ‘प्रचण्ड’ लाई गोरखा लगेका हुन्।

नेपाली कांग्रेसका राजेन्द्र बजगाईं र सुरेन्द्र पाण्डे पनि पन्तका सहयोगी मित्र हुन्। खासगरी बजगाईं व्यापार लगायतका व्यवसायमा पन्तका साझेदार पनि भएको सूत्रको भनाई छ। ‘प्रचण्ड’ ले बजगाईंलाई मन्त्री र पाण्डेलाई मुख्यमन्त्री बनाउँछु भनेर निर्वाचन प्रचारका क्रममा गोरखाका मतदातालाई आश्वासन दिएका थिए। तर अब ‘प्रचण्ड’ त्यो आश्वासन पूरा गर्ने आधारबाट निकै टाढा पुगिसकेका छन्। 
 
सतहमा हेर्दा ‘प्रचण्ड’ लाई बालुवाटार पुर्याउने एमाले अध्यक्ष केपी शर्मा ओली हुन भन्नेहरू पनि छन्। तर प्रचण्डका छद्म सल्लाहकार विजन पन्तले ठूलै शक्तिकेन्द्रको खास उदेश्य निम्ति ‘प्रचण्ड’ लाई गोरखा लगेर सांसद बनाउन भूमिका निर्वाह गरेको काठमाडौंस्थित एक कुटनीतिक सूत्रले बताएको छ।

अक्सफोर्ड विश्वविद्यालयसँग सम्वध्द मानिएका  विजन पछिल्लो समय बाँसवारी बसेर खुमलटारको सल्लाहकारको भूमिकामा रहेको बताईन्छ। पन्तको प्रचण्ड प्रधानमन्त्री बनेपछि आफू योजना आयोगको उपाध्यक्ष हुने वृहत योजना पनि रहेको बुझिएको छ।  

पाँचतारे होटल याक एण्ड यतिको स्वीट रूममा बनेको योजना अनुसार नै प्रचण्ड दौरासुरूवालमा शपथ गर्न राजी भएका हुन्। विजन पन्तको रणनीतिक योजनामा केही पत्रकार, चिरपरिचत केही हस्तिहरू, केही संचार माध्यम, केही कांग्रेसी नेता र नामचलेका कानुन ब्यवसायीहरूको साथ रहेको बुझिएको छ। 

मन्त्रीपरिषदले पूर्णता पाएपछि उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठले पन्तलाई योजना आयोगको उपाध्यक्ष बनाउने प्रस्ताव  क्याबिनेट बैठकमा लैजाने तयारी भैसकेको जानकारी प्राप्त भएको छ।

पूर्व माओवादी नेता बाबुराम भट्टराई पन्तका घनिष्ठ सहयोगी मानिन्छन्।

नेपाली कांग्रेससँग निकटस्थ परिवारका सदस्य विजन पन्त सुशील कोइराला प्रधानमन्त्री छँदा बालुवाटार फन्को मारिरहेको देख्ने एक सांसदका अनुसार, उनी किन प्रचण्डको प्रवध्र्दनमा सक्रिय भएर लागिपरेका छन् भन्ने कुरा अर्थपूर्ण छ।
 
 

प्रतिक्रिया