कांग्रेस संसदीय दलको नेता बुधबार चुनिने

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न पर्सि पुस ६ गते निर्वाचन हुने भएको छ। सोमबार कांग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो।

निर्वाचन कार्यक्रमअनुसार पुस ४ गते मतदाता नामावली प्रकाशन हुनेछ। त्यस्तै पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने कार्यक्रम रहेको छ। भोलि पुस ५ गते बिहान १०स्३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने र ५ गते नै उम्मेदवारको दरखास्तउपर दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

NCदलको नेताका लागि मतदान पुस ६ गते बिहान ८ बजेदेखि १० बजेको समय निर्धारण गरिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ । कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् भने नेता शेखर कोइराला पनि दलको चुनाव लड्न दबाबमा छन् । कोइरालाले भने अहिलेसम्म उम्मेदवारी दिनेबारे केही बताएका छैनन्।

संसदीय दलको नेता चयन गर्ने चुनावमा प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित ८९ सांसद मतदाता हुन्छन् ।

प्रतिक्रिया