कांग्रेस संसदीय दलः देउवालाई गगनले चुनौति दिने

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले चुनौति दिने भएका छन्। यसैसाता दलको नेता चुन्नेगरी नेपाली कांग्रेसले आन्तरिक तयारी थालेको छ। त्यसका लागि आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै छ।

सभापति देउवाले नयाँ बन्ने सरकार आफ्नै नेतृत्वमा रहने गरी गठबन्धन र शक्ति केन्द्रहरुसँग सघन  सम्वाद अगाडि बढाएका छन्। पार्टीभित्रका बलिया प्रतिष्पर्धी मानिएका नेता शेखर कोइरालालाई मनाएर देउवाले आन्तरिक रुपमा आफूलाई जोखिमरहित बनाउने प्रयाश गरेका छन्। तर महामन्त्री गगन थापाले संसदीय दलको नेताको निर्वाचनमा सभापति देउवालाई सर्वसम्मत उम्मेदवार हुन नदिनेगरी गृहकार्य गरिरहेको उनी निकट सूत्रले बताएको छ।

‘गगनले उम्मेदवारी दिन्छन्, मत कति आउँछ भन्ने चिन्ताको कुरा होइन, प्रतिष्पर्धा गर्नुपर्छ भन्ने मुख्य बिषय हो’ गगन निकट सूत्रले आज बिहान दृश्य टिभीसँग बतायो।

महामन्त्री विश्वप्रकाश शर्मा, सांसद प्रदिप पौडेल र नवनिर्वाचित युवा सांसदहरुले सभापति देउवालाई पार्टीको मात्र नेतृत्व लिएर सरकारमा नयाँ पुस्तालाई अवसर दिँदै नेतृत्व बिकासको मार्ग खोल्न सुझाव दिने भएका बुझिएको छ।

सभापति देउवा आफैं प्रधामन्त्री नभैनहुने अडानमा नरहेको तर पत्नी आरजु, प्रवक्ता प्रकाश शरण महत, उपसभापति पूर्ण बहादुर खड्का र विनाबिभागीय राज्यमन्त्री उमेश श्रेष्ठ समूहको दवावले उनी प्रभावित भएको एक जानकार सूत्रले बताएको छ।

शनिबार बालुवाटारमा भेला बोलाएर सभापति देउवाले नवनिर्वाचित सांसदहरुलाई दलको नेतामा आफू चुनौतिरहित उम्मेदवार भएको छनक दिने प्रयाश गरेका छन्। तर त्यहीं उपस्थित सांसदले समानुपातिक सांसद तथा प्रधानमन्त्रीकी धर्मपत्नी आरजु राणाको स्थानमा देउवाले किन पिछडिएको वर्ग र क्षेत्रका नेतालाई रोज्न सकेनन् भनेर टिकाटिप्पणी गरेका थिए। बालुवाटार भेलापछि सांसदहरुले ‘दलको नेता चुन्दा सल्लाह गर्नुपर्छ’ भन्दै विदा भएको एक सांसदले बताए।

यता कार्यसम्पादन समितिको बैठकल संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा समेत छलफल हुने बताईएको छ।

कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ। सङ्घीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन्। यसैगरी संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ। साथै कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि सुरु भएको छ। यसैगरी निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ।
 

प्रतिक्रिया