प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका पौडेललाई देउवाले विश्वास नगर्नुको यस्तो छ कारण

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न हारगुहार गरिरहेका छन्। ‘मर्नुअघि देशका लागि केही गर्ने चाहना पूरा गर्न’ चाहीरहेका नेता पौडेलले सबैभन्दा पहिला एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ढोका ढक्ढक्याएका थिए। नेपालले सबैभन्दा पहिला आफ्नै पार्टी नेपाली कांग्रेसभित्र कुरा मिलाउन सुझाव दिएका थिए। 

नेता पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज बिहान एकघण्टा वार्ता गरेका छन्। देउवा आफैं छैटौं पटक प्रधानमन्त्री बन्ने चक्करमा छन्। तैपनि पौडेलले प्रधानमन्त्री निवासमै पुगेर देउवासँग आफूलाई प्रधानमन्त्री बनाउन सहयोग मागे। तर देउवाले उनलाई के भने भन्ने कुरा थाहा हुन सकेको छैन।

पौडेलले आफूले गिरिजाप्रसाद कोइरालाको पालादेखि नै नेपाली कांग्रेसका लागि संघर्ष गर्दै आएको स्मरण गराउँदै देउवासँग भने, ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्।’

वर्तमान गठबन्धनको निर्माण गर्न र टिकाउनमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको समेत बताउँदै पौडेलले भने, ‘म प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने पनि छन्।’ 

नेता पौडेलले आफ्नै पार्टीका नेता, गठबन्धनका नेता मात्र होइन दलसँग प्रत्यक्ष सम्बन्ध नरहेका विभिन्न व्यक्तिहरुसँग पनि आफूलाई प्रधानमन्त्री बन्ने वातावरण मिलाउन अनुरोध गरिरहेको जानकार सूत्रले बताएको छ। पौडेलले भारतको हरिद्वारस्थित पतञ्जलि योगपीठका संस्थापक बाबा रामदेवसँग समेत आफू प्रधानमन्त्री बन्न चाहेको सन्देश पठाएर सहयोग गरिदिन अनुरोध गरेको एक उच्च सूत्रले बताएको छ। रामदेवका विश्वासपात्र काठमाडौंस्थित पतञ्जलि योगपीठका ट्रष्टि इञ्जिनियर शालिकराम सिंह मार्फत पौडेलले यस्तो सन्देश पठाएको बुझिएको छ।

देउवा–पौडेल ‘इगो’

नेपाली कांग्रेसका एक पूर्व केन्द्रीय सदस्यले सभापति देउवा र नेता पौडेलवीच पुरानो ‘इगो’ रहेको सुनाए। जुनबेला देउवाले नेपाली कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरेका थिए, त्यसबेला उनले पौडेललाई सर्वसम्मत अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। पार्टी गठन गर्ने सबै तारतम्य पूरा भैसकेपछि देउवाले लामो समय पौडेलको प्रतिक्षा गरे। तर पौडेल गएनन्। अनि देउवा आफैं सभापति भएका थिए।

त्यसबेलाको पौडेलको अनुपस्थितिलाई देउवाले धोकाको रुपमा लिएका छन्, जसका कारण महत्वपूर्ण बिषयमा उनी पौडेललाई विश्वास गर्दैनन्।

एक अर्को समाचार सूत्रका अनुसार, प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका नेता पौडेल अन्तत राष्ट्रपति हुन चाहन्छन्। अहिले प्रधानमन्त्री हुन संसदीय दलको निर्वाचनमा देउवासँग प्रतिष्पर्धा गर्न चाहेको पौडेलको रणनीतिक खेल भएको सूत्र बताउँछ। तर पाँच दलीय गठबन्धनले सत्ता सेयर गर्दा कसको भागमा के पर्छ अहिले यसै भन्न सकिने अवस्था छैन।
 

प्रतिक्रिया