देशभर बढ्दैछ चिसो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम केही दिनयता निरन्तर घटिरहेको छ । आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियसमा झरेको छ ।

उपत्यकामा यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घटेको हो । तापक्रम घट्दै जाँदा निकै चिसो अनुभव हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अरु भागमा पनि चिसो बढ्न थालेको छ । आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

तापक्रम घट्दै जाँदा चिसो बढेको अनुभव गरिएको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा निकै चिसो महसुस हुने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कनुसार तापक्रम घट्दै जाने भएकाले थप चिसो बढ्ने जनाएको छ ।

तराई, पहाड र हिमाली क्षेत्रमा हुस्सु र कुहिरो लाग्न थालेको छ । महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया सफा छ । आइतबार र सोमबार देशभरको मौसम सफा रहनेछ ।

मङ्गलवार भने प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आगामी दिनमा चिसो अझ बढ्दै जाने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया