समानुपातिकमा पर्नेको भाग्य फैसला हुँदै

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका दलहरु समानुपातिक सांसद्को नाम टुंगो लगाउन गृहकार्यमा जुटेका छन्। आफ्नो दलका समानुपातिक सांसद्को नाम टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरुको बैठक बसिरहेको छ।

यसका लागि एमाले सचिवालय बैठक बिहान ११ बजेदेखि जारी छ भने नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पान समिति बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। माओवादी पदाधिकारी बैठक आज पनि बस्दैछ। आजै राप्रपाले पनि कार्यसम्पादन समिति र जसपाले कार्यकारिणी बैठक बोलाएका छन्।

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी ९लोसपा० ले भने समानुपातिक सांसद्को नाम छनोट गरेर निर्वाचन आयोगमा पठाइसकेका छन् ।

आयोगले मंसिर २१ गते राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसद्को नाम मंसिर २४ गतेसम्म पठाउन निर्देशन दिएको थियो। आयोगले समानुपातिक सांसद्को अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज अपरान्ह सकिँदैछ।

आयोगले दिएको समयको अन्तिम दिन दलहरु छलफलमा जुटेका छन्। दलहरुले समानुपातिक सांसद्को नाम टुंग्याएर आयोगमा पठाउनेछन्। दलहरुले पठाएका नाम समानुपातिक सिद्धान्त अनुसार भए/नभएको जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ।

नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ र प्रदेश सभामा ६४ गरेर कुल ९६ सिट छ। कांग्रेसले प्रदेश-१ मा १२, मधेश प्रदेशमा ९, वाग्मतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट छ।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ सबैभन्दा धेरै सिट एमालेको भागमा परेको छ। एमालेले प्रतिनिधि सभातर्फ ३४ र सातै प्रदेश सभातर्फ ७० गरेर कुल १ सय ४ सिट छ। एमालेले प्रदेश-१ मा १५, मधेश प्रदेशमा ८, वाग्मतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट सुरक्षित गरेको छ।  

माओवादीले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ गरेर ४३ सिट छ। माओवादीले प्रदेश-१ मा ४, मधेश प्रदेशमा ४, वाग्मतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ सिट सुरक्षित गरेको छ।

राप्रपाले प्रतिनिधि सभामा ७ र प्रदेश सभामा १७ गरेर कुल २४ सिट पाएको छ। राप्रपाले  प्रदेश-१ मा ४, मधेसमा १, वाग्मतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा १३ सिट पाएको छ। उसले प्रदेश सभातर्फ सिट पाएको छैन । प्रतिनिधि सभामा १ सिट पनि नपाएको एकीकृत समाजवादीले प्रदेश सभामा ९ सिट पाएको छ। एकीकृत समाजवादीले प्रदेश-१ मा १, मधेसमा ३, वाग्मतीमा २ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समान १/१ सिट छ।

नेपाल मजदुर किसान पार्टीको भागमा प्रदेश सभातर्फ वाग्मतीमा मात्रै २ सिट छ। जसपाले प्रतिनिधि सभामा ५ र प्रदेश सभामा ९ गरेर कुल १४ सिट पाएको छ। जसपाले प्रदेश-१ मा १, मधेसमा ७ र लुम्बिनीमा १ सिट पाएको छ।

जनमत पार्टीले प्रतिनिधि सभामा ५ र प्रदेश सभामा ९ गरेर कुल १४ सिट पाएको छ। जनमतले मधेसमा ७ र लुम्बिनीमा २ सिट छ।

लोसपाले प्रदेश सभामा मात्र ३ सिट र मधेसमा २ र लुम्बिनीमा १ सिट सुरक्षित गरेको छ।  नेपाल संघीय समाजवादीले प्रदेश सभातर्फ मधेसमा १ सिट पाएको छ। 

नागरिक उन्मुक्ति पार्टीको भागमा मधेसमा १, लुम्बिनीमा २ र सुदूरपश्चिममा २ गरेर ५ सिट छ। राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा १ सिट पाएको छ।  हाम्रो नेपाली पार्टीसँग वाग्मतीमा १ सिट मात्र छ।

समानुपातिकतर्फ कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ। एमालेले कांग्रेसले भन्दा १ लाख ३० हजार ४१६ मत बढी पाएको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ। 

माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मतको साथ पाए‍का छन्। 

प्रतिक्रिया