प्रधानमन्त्री बन्न प्रचण्ड आतुर, फेरि फाले वामपन्थी एकताको तुरुप

काठमाडौं। आगामी सरकार पाँचदलीय गठबन्धनकै रहने कि नयाँ समीकरणमा अर्कै बन्ने भन्ने कुराको छिनोफानो गर्न माओवादी केन्दको भूमिका निर्णायक हुने छ। माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनको विकल्पमा वामपन्थी दलहरु मिलेर अर्को गठबन्धन बनाउने संकेत गरेपछि राजनीतिक खेलकूद चर्किएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वामपन्थी दलहरुको एकतालागि ढोका खुला रहेको ताजा भनाईले सत्तारुढ गठबन्धनको भविष्यमाथि प्रश्न उठाएको छ। प्रचण्ड सम्भव भएसम्म नयाँ सरकारको नेतृत्व गर्न चाहन्छन् भन्ने कुरा उनको दौडधुपले पनि प्रष्ट पारेको छ। उनले आन्तरिक र वाह्य शक्ति केन्द्रहरुको समेत समर्थन जुटाउन सम्भव सबै प्रयाश जारी राखेका छन्।

स्वास्थ्योपचारका लागि चीन गएका नेता वर्षमान पुनले त्यहाँको नेतृत्वसँग यसबारे परामर्श गर्ने जिम्मेवारी पाएको बुझिएको छ।

नयाँ सरकार आफ्नो नेतृत्वमा बनाउने कसरत कै सिलसिलामा प्रचण्डले आज माओावादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन्। अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने गरी बैठक बोलाईएको माओवादी सूत्रले बताएको छ। 

हिजो शनिवार बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको निर्णय गरेको थियो। आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने बताईएको छ।

आज दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्ने बैठकले नयाँ गठबन्धनको भविष्यबारे नयाँ ढोका खोल्न पनि सक्ने एक नेताले बताए।

 

प्रतिक्रिया