एक नम्बर प्रदेशमा सत्ताको रोचक खेल: कांग्रेस र एमाले एक मत तान्ने खेलमा, जसपा निर्णायक

काठमाडौं। एक नम्बर प्रदेशमा सरकार बनाउन जनता समाजवादी पार्टीको एकल निर्णयले मुख्य भूमिका खेल्ने भएको छ। प्रदेशमा एमाले ठूलो दल भए पनि उसले एक्लै सरकार बनाउन सक्दैन। जसपाको सहयोग पाएमा एमालेको नेतृत्वमा सरकार बन्नसक्ने सम्भावना बलियो छ। निर्वाचनमा एमालेसँग सहकार्य गरेको सहयात्री दलहरु राप्रपा र जसपाको संख्या जोड्दा भने उनीहरुको पक्षमा स्पष्ट बहुमत पुग्ने छ। जसपाले कस्तो भूमिका खेल्छ भन्ने बारेमा एमाले ढुक्क हुन सकिरहेको देखिँदैन।

प्रदेश १ मा ९३ सदस्य रहेको सभा छ। यहाँ सरकार बनाउन बहुमतका लागि ४७ सांसद् आवश्यक पर्छ। प्रदेश सभामा समानुपातिकबाट सांसद् पाउन सदर मतको एक दशमलव ५ प्रतिशत कटाउनु पर्छ।

प्रदेश एकमा एमाले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो दल बनेको छ। यो प्रदेशमा ३६ दलले समानुपातिक चुनावमा भाग लिएका थिए। जसमध्ये ६ दलले मात्र थ्रेसहोल्ड अर्थात् सदर मतको एक दशमलव पाँच प्रतिशत कटाएका छन्। अघिल्लो पटक प्रदेश संसद्मा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिक सीट पाउन बञ्चित भएको छ। 

एमालेले प्रत्यक्षमा २५ सिट जितेको छ। उसले ३५ दशमलव ०३ प्रतिशत अर्थात् ६ लाख ६५ हजार ४६० मत ल्याएको छ। यस पार्टीले समानुपातिकको गणितिय हिसाबबाट १४ समानुपातिक सिट पाउने देखिन्छ। एमालेको कूल सीट ३९ हुने देखिएको छ।

दोस्रो स्थानमा रहेको कांग्रेसले १७ सिट जितेको छ। कांग्रेसले २९ दशमलव ६४ प्रतिशत अर्थात् पाँच लाख ६२ हजार ९५६ मत पाउँदा समानुपातिकबाट १२ सिट पाउने देखिन्छ। त्यसो हुँदा कांग्रेसको कूल सीट २९ हुन्छ।

माओवादीले प्रत्यक्षमा ९ सीट जितेको छ र समानुपातिकमा नौ दशमलव ५४ प्रतिशत अर्थात् एक लाख ८१ हजार २४५ मत ल्याएको छ। यस पार्टीले समानुपातिकको गणितिय हिसाबमा चार सिट पाउने देखिन्छ। माओवादीको कूल सीट १३ हुनेछ।

नेकपा एसले प्रत्यक्षमा तीन सीट जितेको छ र समानुपातिकमा एक सीट निश्चित रुपमा पाउने देखिएको छ। उसको कूल चार सीट हुने देखिन्छ। 

राप्रपाले प्रत्यक्षमा दुई सीट जितेको छ र समानुपातिकमा चार सीट पाउँदा ६ सीट हुनसक्छ। जसपाले प्रत्यक्षमा सीट नजिते पनि समानुपातिकमा दुई सीट ल्याउने देखिएको छ। 

समानुपातिकको अन्तिम परिणाम आउँदा दलहरुले पाउने एकदुई सीट तलमाथि हुनसक्ने देखिएको छ। तैपनि सरकार बनाउने अंकगणितमा खासै फेरबदल आउने देखिँदैन। 

प्रदेश सभाको समानुपातिक तर्फको हाल सम्म १८ लाख ९९ हजार १४४ मत सदर भएको छ।

प्रदेश सभा समानुपातिक तर्फ मध्ये एमालेले ३५ दशमलव ०३ प्रतिशत अर्थात् ६ लाख ६५ हजार ४६० मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले २९ दशमलव ६४ प्रतिशत अर्थात् पाँच लाख ६२ हजार ९५६ मत ल्याएको छ। तेस्रोमा समानुपातिक तर्फ Province 1राप्रपाले १० दशमलव ४५ प्रतिशत अर्थात् एक लाख ९८ हजार ५११ मत ल्याएको छ। 

त्यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९ दशमलव ५४ प्रतिशत अर्थात् एक लाख ८१ हजार २४५ मत पाउँदा पाँचौंमा रहेको जनता समाजवादीले ३ दशमलव २५ प्रतिशत अर्थात् ६१ हजार ७२३ मत ल्याएको छ। 

छैटौं स्थानमा रहेको एकिकृत समाजवादीको २ दशमलव ९४ प्रतिशत अर्थात् उसँग ५५ हजार ९५७ मत छ। 

सरकार बनाउने निर्णयक मत ४७ कसले पुर्याउन सक्ने हो त्यो टुंगो लाग्न बाँकी छ। ठूलो दल भएकाले एमालेले नै यो अवसर पाउने सम्भावना देखिएको छ।  

सत्ता गठवन्धनका दलहरुको कूल सांसद् संख्या ४६ पुग्छ, जो बहुमतभन्दा एक सांसद् घटी हो। यो अवस्थामा गठवन्धनले राप्रपा या जसपामध्ये एउटालाई साथमा लियो भने बहुमत पुग्न सक्छ । 

यहाँ मुख्यगरी जसपा चाबी पार्टी बनेको छ। जसपा जता लाग्यो उसैको सरकार बन्ने स्थिति छ। तर, यसमा केन्द्रमा हुने संसदीय तालमेलले पनि असर पार्छ। अहिलेसम्मको अवस्था हेर्दा केन्द्रमा राप्रपा र जसपा दुवै देउवा–प्रचण्ड गठवन्धनबाट बाहिर छन्। 

प्रतिक्रिया