बालुवाटार वार्ता

बालुवाटार वार्ताको परिणाम: सीके राउतले देउवालाई सघाउने

काठमाडौं। आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन चाहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुर्याउन गठबन्धनमा अरु दललाई जोड्न कसरत गरिरहेका छन्। निर्वाचन परिणाम आईनसक्दै बाम गठबन्धनको चर्चा चलेपछि दवावमा परेका प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनलाई नै निरन्तरता दिएर अघि बढ्न चाहेको बताईसकेका छन्। 

यसवीच गठबन्धनको अर्को मुख्य दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवा भावी सरकार गठबन सहित सत्ता साझेदारीबारेमा परामर्श गर्न भेटिरहेका छन्। सरकार प्रमुख, संसदको सभामुख लगायतका पदहरु र अर्को महत्वपूर्ण पद राष्ट्रपतिमा ककसले दावी गर्ने भन्ने बिषयमा दुइ नेतावीच खुलेरै चर्चा भएके बुझिएको छ।

सिके राउतले सघाउने

सप्तरीको दुइ नम्बर क्षेत्रबाट उल्लेख्य मत पाएर प्रतिनिधिसभा सदस्य जितेका जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने मनसुवा व्यक्त गरेको थाहा भएको छ। नेपाली कांग्रेसका एकजना मधेशी नेता मार्फत प्रधानमन्त्री देउवा समक्ष यस्तो सन्देश पुर्याएका राउतले बिहीबार देउवासँग भेटेका छन्। बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको सरकारी स्रोतले पुष्टि गरेको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार देउवा र राउतबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ। यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा राउतबीच भेटवार्ता भएको थियो।

प्रतिनिधिसभा सदस्यमा डा राउत मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले हराएर सप्तरी क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। समानुपातिकतर्फ सो पार्टीले हालसम्म कुल तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ। उनले ३५ हजार ४२ मत प्राप्त गरेमा थिए।

प्रतिक्रिया