निर्वाचन खबर

कांग्रेस र एमालेले किन गुमाए लोकप्रिय मत?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा दुइ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक मत घटाएका छन्। यो निर्वाचनमा समानुपातिकको एक करोड १२ हजार ४७ सदर मतको परिणाम आउँदा नेपाली कांग्रेस र एमालेले लोकप्रिय मत विगतको तुलनामा कम पाएका छन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा तर्फको समानुपातिक मत परिणाम हेर्दा कांग्रेस र एमालेको लोकप्रिय समानुपातिक मत विगतभन्दा घटेको देखिन्छ। समानुपातिक तर्फ अब करिब साढे सात लाख मत गन्न बाँकी छ।

अघिल्लो आम चुनावमा एमालेले समानुपातिक तर्फ ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो। समानुपातिक तर्फको सदर कूल मतमध्ये यो ३३ दशमलव २४ प्रतिशत थियो। अहिले एमालेले २६ लाख ९७ हजार ६६४ मत ल्याएको छ। यो एक करोड १२ हजार ४७ को २६ दशमलव ९४ प्रतिशत हो।

कांग्रेले अघिल्लो आमचुनावमा प्रतिनिधि सभा तर्फ समानुपातिकमा ३१ लाख २८ हजार तीन सय ८९ मत पाएको थियो। यो कूल सदर मतको ३२ दशमलव ७७ प्रतिशत थियो। अहिलेसम्म कांग्रेसले २५ लाख ५५ हजार १५९ मत पाएको छ। यो २५ दशमलव ५२ प्रतिशत हो।

माओवादीले अघिल्लो आमचुनावमा १३ लाख तीन हजार ७२१ अर्थात् १३ दशमलव ६५ प्रतिशत मत ल्याएको थियो। अहिलेसम्म ११ लाख ४१ हजार २७३ मत ल्याएको छ। यो ११ दशमलव ३९ प्रतिशत हो।

राप्रपाले अघिल्लो चुनावमा एक लाख ९६ हजार ७८२ मत अर्थात् दुई दशमलव शुन्य ६ प्रतिशत मत ल्याएको थियो। तीन प्रतिशत मत नपुगेर राप्रपाले समानुपातिक सीट ल्याएको थिएन। यसपटक भने राप्रपाले  पाँच लाख ७० हजार ३०४ मत कटाईसकेको छ। यो पाँच दशमलव ६९ प्रतिशत हो।  

उपेन्द्र यादव नेतृत्वको पार्टीको नाम अघिल्लो चुनावमा संघीय समाजवादी फोरम थियो। फोरमले चार लाख ७० हजार २०१ अर्थात् सदर मतको चार दशमलव ९२ प्रतिशत मत ल्याएको थियो। यसपालि यो उपेन्द्र नेतृत्वको पार्टीको नाम जनता समाजवादीमा रुपान्तर भएको छ। अहिलेसम्म उपेन्द्रको पार्टी जसपाले तीन लाख ९३ हजार ५९९ मत अर्थात् तीन दशमलव ९३ प्रतिशत मत पाएको छ। 

अघिल्लो चुनावमा कांग्रेस, एमाले, माओवादी, राजपा (हालको लोकतान्त्रिक समाजवादी पार्टी ) र फोरमले मात्र राष्ट्रिय पार्टीको हैसियत पाएका थिए। उनीहरु बीच मात्र एकसय १० सीट समानुपातिको बाँडफाँड भएको थियो। यसपालि नयाँ थपिएको राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले पनि समानुपातिक सीट पाउने निश्चित भइसकेको छ। रास्वपाले हालसम्म १० लाख ९७ हजार ७८९ मत अर्थात् १० दशमलव ९६ प्रतिशत पाएको छ भने जनमतले तीन लाख ५४ हजार ३८५ अर्थात् तीन दशमलव ५३ प्रतिशत पाएको छ।

ठूला दल नेपाली कांग्रेस र एमालेले प्रतिनिधि सभाको समानुपातिक तर्फ ठूलै मत गुमाएको देखिन्छ। अहिलेसम्मको गणनामा एमालेले विगतको भन्दा ६ दशमलव ३३ प्रतिशत मत गुमाएको छ भने कांग्रेसले अघिल्लो चुनावको तुलनामा सात दशमलव २७ प्रतिशत गुमाएको छ।

गणना गर्न बाँकी मतको विवरण आउन बाँकी नै छ।
 

प्रतिक्रिया