पर्दाभित्रको राजनीति

को बन्ला नयाँ प्रधानमन्त्रीः रामचन्द्र कि गगन?

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनअघि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री बन्ने आफ्नो तृष्णा पोखेका थिए। प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएपछि गठबन्धनवीच निर्वाचन क्षेत्र तालमेलको तानातान चलिरहेका बेला नेता पौडेलले भनेका थिए– ‘म मर्नुअघि देशका लागि केही गर्न चाहन्छु।’ 

के तपाईं निर्वाचन जितेर प्रधानमन्त्री बन्न  चाहनुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा पौडेलले ‘अहिले नै त्यसो भनें भने चौतर्फि विरोध सुरु हुन्छ’ भनेका थिए।

अघिल्लो निर्वाचनमा तनहुमा पराजीत भएपछि राजनीतिमा गतिरोध लाग्ने हो कि भनेर निकै चिन्तित थिए पौडेल। तर यसपाली अघिल्लो पटक उनलाई हराउने एमाले नेता किसान श्रेष्ठलाई बारा पठाएपछि पौडेललाई यसपटक जित्न सहज भएको थियो। किसान श्रेष्ठ यतिबेला माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा छन्। 

वरिष्ठ नेता पौडेल अब आफूलाई प्रधानमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गर्दै समर्थन माग्न सबैभन्दा पहिले उनै नेपालको बैठक कक्षमा छिरेका छन्।

यही उदेश्यमा परामर्श गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच छलफल भएको छ। आज सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका पौडेल कुनै ठोस वचन नपाई फर्केको बुझिएको छ।

आजको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल गर्दै दुवै नेताले आगामी सरकारको संरचना र नेतृत्वका बारेमा पनि चर्चा गरेको समाचार सूत्रले बताएको छ।

नेपालनिकट सूत्रले कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नका लागि अगाडि बढेको भन्दै पौडेलले सहयोग मागेका थिए। पाँचदलीय गठबन्धनबाट सरकारको नेतृत्वका लागि आफूलाई सहयोग गर्न पौडेलले आग्रह गरेको सूत्रले बतायो।

कांग्रेस पार्टी मिलाएर आएमा आफूले समर्थन गर्ने नेपालले वचन दिएका र अहिले प्रधानमन्त्रीको दाबी गरिरहेको पुस्तामा पौडेलमात्रै प्रधानमन्त्री नबनेकाले कांग्रेसले अगाडि सारेमा एकीकृत समाजवादीले समर्थन गर्ने नेपालले आवश्वासन दिए।

यता नेपाली कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनको भविष्य नै बहसमा छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच यसबारेमा छलफल सुरु भएको छ। गठबन्धनलाई निरन्तरता दिने सामान्य सहमति बनेको भएपनि सरकार गठनबारे कुनै आधार बनिसकेको छैन। प्रचण्ड आफैं नयाँ सरकारको नेतृत्व गर्न चाहन्छन् भने देउवालाई नै प्रधानमन्त्री बनाउनु पर्छ भनेर कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पैरवी थालेका छन्।

यता महामन्त्री गगन थापालाई संसदीय दलको नेताका रुपमा अघि बढाउन कसरत भैरहेको बुझिएको छ। महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अर्का महामन्त्री थापालाई संसदीय दलको नेताका रुपमा अघि सार्न आफू तयार रहेको बताईसकेका छन्। यसो हुँदा पौडेल र गगनवीच पनि प्रतिष्पर्धा हुनसक्ने सम्भावना देखिन्छ। तर सभापति देउवा पक्ष यसो हुन दिने छैन। प्रवक्ता महतले निर्वाचनअघि देखि नै सभापति देउवाको पक्षमा पैरवी गरिसकेका छन्। पौडेल र थापालाई लडाएर आखिरमा देउवालाई नै प्रधानमन्त्री बन्न मार्ग प्रशस्त गर्ने कसरत पनि भैरहेको बुझिन्छ।

यहाँ अर्को महत्वपूर्ण पक्ष छ, कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद डाक्टर शेखर कोइरालाको। कोइराला नयाँ सरकार र नेतृत्वका बारेमा अहिलेसम्म बोलेका छैनन्। उनी आफैं यसबारे के कस्तो तयारीमा छन् भन्ने कुरा स्पष्ट नभईकन कांग्रेसको कुन नेताले सरकारको नेतृत्व गर्नेछन् भन्ने कुराको टुंगो लाग्न सक्ने देखिँदैन। 
 

प्रतिक्रिया