आमनिर्वाचन- २०७९

गठबन्धन त्यागेका उपेन्द्रलाई भारी मतले हराएर सिके राउत भए सांसद्

बिराटनगर । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरीको २ नम्बर  क्षेत्रबाट ठूलो मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। राउतले आफ्ना निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले हराएका हुन्। 

राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् भने यादवले १६ हजार ९७९ मत पाएका छन् । 'विखण्डनकारी' अभियानमा सक्रिय भएको आरोप लागेका राउत केपी ओली प्रधानमन्त्री छँदा शान्ति प्रक्रियामा सहभागी भएर राजनीतिक संगठन बनाउन जुटेका थिए। अब उनी  जनमत पाएर प्रतिनिधिसभा सदस्य चुनिएका छन्।

जनमत पार्टीले प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा पनि जितेको छ । सप्तरी २(१)मा सतिशकुमार सिंह निर्वाचित भए । सप्तरी २(२)मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका छन्।

अमेरिकाको क्याब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पीएचडी गरेका उनी २०६८ सालमा नेपाल फर्किएका थिए । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।

राउतले शान्तिपूर्ण राजनीतिमा आएपछि ुजनमत पार्टीु का रूपमा राजनीतिक दल गठन गरेका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा पनि सप्तरीमा २ वटा स्थानीय तहमा जनमत पार्टीका उम्मेदवार विजयीसमेत भएका छन् ।

यता उपेन्द्र यादव पाँच दलीय गठबन्धन त्यागेर निर्वाचनको मुखमै एमालेको नेतृत्वको गठबन्धनमा सहभागी भएका थिए।

प्रतिक्रिया