आमनिर्वाचन- २०७९

काठमाडौं एकका मतदाताको प्रश्न– ‘गणेशमानको पक्षमा उभिने कि मरिचमानको?’

काठमाडौं। उपत्यकामा निर्वाचन प्रचार अभियान तातिरहेका बेला दुइवटा गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुको प्रभावबारे अड्कलबाजी सुरु भएको छ। प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धनमा रहेका अन्य दलहरुले सहमति अनुसार नै निर्वाचन परिचालन गर्दा दलकै उम्मेदवार बिजयी हुने निष्कर्षमा वौध्दिक मतदाता पुगेको देखिन्छ। स्थानीय निर्वाचनको परिणामलाई आधार मानेर संसदीय निर्वाचन परिणामको अनुमान गर्दा सही विश्लेषण नहुने उनीहरुको भनाई छ।

इञ्जिनियर एशोशिएशनका पूर्व अध्यक्ष किशोर शाक्य स्वतन्त्र उम्मेदवार बनेर निर्वाचनमा भाग लिईसकेका व्यक्तिहरु स्वतन्त्र रहन नसकेकोले उनीहरुमाथिको जनविश्वास ज्यादै कमजोर भएको बताउँछन्। शाक्यका बिचारमा राजनीतिक दलहरुकै प्रतिनिधिहरुवीच प्रतिष्पर्धा हुने र पाँचदलीय गठबन्धन नै प्रमुख शक्तिका रुपमा स्थापित हुने छन्।  

प्राज्ञ चूडाराज उप्रेतीले पनि स्वतन्त्र उम्मेदवारले साख बचाउन नसकेकाले गठबन्धनकै उम्मेदवारमाथि मतदाताको विश्वास बढेको बताए।

वरिष्ठ पत्रकार हरिहर बिरही परिवर्तनका मुख्य नायक राजनीतिक दलहरु नै भएकाले उनीहरुलाई नै जनताले पत्याएको बताउँछन्। स्वतन्त्र भनेर निर्वाचनमा प्रतिष्पर्धा गरिसकेका व्यक्तिहरुले पश्चगामी बाटो रोजेकाले मतदाता उनीहरुसँग झस्किएको बिरहीको बुझाई छ। काठमाडौं क्षेत्र नम्बर एकमा विगतमा प्रतिष्पर्धा गरेका पूर्व पत्रकार रवीन्द्र मिश्रतिर संकेत गर्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति बिरहीले मिश्रले राजसंस्थाको पुनर्वहालीको उदेश्य बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकाले उनी आफैंले मतदाताको विश्वास तोडेको टिप्पणी गरे। ‘सर्बोच्च नेता गणेशमान सिंहको बिचार पक्षमा उभिने कि निरंकुश पञ्चायतका हिमायती मरिचमान सिंहका पक्षमा लाग्ने भनेर अहिलेका मतदातालाई भ्रम होला जस्तो मलाई लाग्दैन’ बिरहीले कटाक्ष गरे।

ओम अस्पतालका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डाक्टर आनन्द श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर एकका वौध्दिक मतदाता कहिले पनि सतही होहल्लाका पछाडि नलागेको बताए। उनले कुनै राजनीतिक आधार नभएका उम्मेदवार चुनेर मतदाताले आफ्नो मत खेर फाल्न नहुने सुझाव पनि दिए।

काठमाडौं क्षेत्र नम्बर एकका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह आफूले मतदाताको शीर निहुरिने गरी कुनै गलत काम नगरेको चर्चा गरे। यस क्षेत्रबाट तीन पटक प्रतिनिधित्व गरिसकेका नेता सिंहले निर्वाचनका बेला मतदाता सामु जनाएका प्रतिवध्दता केही पूरा हुन बाँकी भए पनि धेरै महत्वपूर्ण काम सम्पन्न भैसकेको पनि बताए। उनले सूचना प्रविधिको क्षेत्रमा केही महत्वपूर्ण काम गरेर युवा पुस्तालाई रोजगारीको अवसर सिर्जना गर्ने योजना आफूले बनाईसकेको पनि सुनाए।

इञ्जिीनियर, कानून व्यवसायी, चिकित्सक, शिक्षक, प्राध्यापक र पत्रकारहरु आवध्द रहेको   चेतनशील राष्ट्रिय नागरिक समाजले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा भूमिविद् वुध्दिनारायण श्रेष्ठले पनि उम्मेदवार प्रकाशमान सिंहलाई शुभकामना दिए।

त्यसैगरी कार्यक्रममा समाजसेवी टंकबहादुर श्रेष्ठ, वरिष्ठ पत्रकार भरत कोइराला, इञ्जिीनियर एशोशिएशनका पूर्व अध्यक्ष ध्रुव थापा, प्राध्यापक गुणनिधि न्यौपाने, अधिवक्ता योगेन्द्र अधिकारी लगायत पूर्व प्रशासक, व्यवसायी र विभिन्न संघसंस्थामा आवध्द महिला तथा युवाहरुको उल्लेख्य सहभागिता थियो।

प्रतिक्रिया