आमनिर्वाचन २०७९

एमालेका पोखरेललाई आच्छुआच्छु पार्दै गठबन्धनका पौडेल 

काठमाडौं। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ चर्चित क्षेत्रमध्येमा परेको छ। यहाँ एमालेका नेता इश्वर पोखरेल  र नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलवीच सिधा प्रतिष्पर्धा भैरहेको छ। पोखरेल यही क्षेत्रबाट प्रतिनिधित्व गरेर सरकारका विभिन्न पदमा रहीसकेका छन् भने पौडेल राजकाजको जिम्मेवारीमा पुगेका छैनन्। सत्तामा रहँदा केही विवादाष्पद बिषयसँग जोडेर पोखरेलको आलोचना हुने गरेको छ। पौडेल यसबाट अलग देखिन्छन्। एमाले सरकारमा छँदा पनि यस क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको आरोप पोखरेलमाथि छ। पाँच दलीय गठबन्धनका उम्मेदवार पौडेल यस्ता प्रश्नको जवाफ दिनुपर्ने स्थानमा पुगेका छैनन्। आगामी निर्वाचनमा यिनै दुइ नेताका वीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ।

काठमाडौं क्षेत्र नम्बर पाँचका मतदाताले आफ्नो प्रतिनिधित्वको विकल्प खोजिरहेको बुझ्न सकिन्छ। खासगरी नयाँ मतदाताले यही भावना अनुसार नेपाली कांग्रेसका नेता पौडेलप्रति झुकाव बढाएको स्थानीय भनाई छ। तैपनि दुवै उम्मेदवारले नयाँ मतदाताको ध्यान खिच्ने किसिमका कुनै योजना प्रस्तुत गर्न नसकेको स्थानीय मतदाताको भनाई छ।

यस क्षेत्रमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन्। निर्वाचन आयोगले प्रचारप्रसार खुला गरे सँगै काठमाडौँ क्षेत्र नं ५ मा पनि उम्मेदवार मतदाताकाका घरदैलोमा आ आफ्ना चुनावी प्रतिवद्धता सहित पुगेका छन्। निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको छ।

एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छन् भने पौडेललाई गठबन्धनको समर्थन छ। सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका चार, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन्। यो क्षेत्रभित्र काठमाडौँ महानगरका २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ वडा रहेका छन्। 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन्। 

स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कूल १७ हजार नौ सय ५२, कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीले एक हजार आठ सय ३९ र माओवादी केन्द्रले सात सय २० मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले तीन हजार तीन सय ८८ मतान्तरले अगाडि देखिन्छ।

विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार इश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महत बिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए। 

सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकोले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन्। तर एमालेका पोखरेललाई गठबन्धनका पौडेलले आच्छुआच्छु पारेको देखिन्छ।
 
 

प्रतिक्रिया