राजनीति गर !    

rokat basnet copy

राजनीति गर !    
साथीहरु भन्छन् तिमी राजनीति गर
समाजले भन्छ तिमी राजनीति गर
कोही भन्दैन राजनीति किन गर्ने !
राजनीति के हो र कस्का लागि गर्ने ? 
दलको सदस्यको पनि त समाजमा इज्जत छ 
चुनाव जित्नेको त इतिहाँस नै लेखिन्छ
हार्नेको पनि त सर्वस्व कहाँ गएको छ र
धन, सम्मान र नाम सबै पाइन्छ 
तिमी राजनीति गर ।।

राजनीति गर !
देश चलाउने यती ठूलो राजनीति
वन्धुवान्धव, कुटुम्ब चलाउने राजनीति
धर्म,कर्म र व्यवसाय चलाउने राजनीति
विकास, विनाश, भ्रष्टचार, पापाचार र लोकाचार 
सबैको पृष्ठपोषण गर्न सक्ने राजनीति
नीतिहरुको निर्माता राज नीति 
त्यसैले सद्भाव राख्नेहरु भन्छन् 
तिमी राजनीति गर ।।

राजनीति गर !
टिकट अर्कैले दिन्छ
ओठ, नोट र भोट अर्कैले दिन्छ
विषयको विज्ञता कुनै चाहिँदैन
प्राज्ञिक ज्ञान र सीपलाई  दहन गर्नसके भयो
हस्ताक्षर गर्न जाने पनि नजाने पनि 
भाषण गर्न र आश्वासन दिनसके भयो  
गुण्डागर्दी र हुलदङ्गा जीवन्त बनाउँदै
धाराप्रवाह शान्ति र विकासको नारा दिएर 
बाद्धिकतालाई खण्डन र दललाई विखण्डन गरेर
माननीय र सम्माननीय हुनलाई
तिमी राजनीति गर ।।

राजनीति गर !
साधवी र तपस्वीले भनेजस्तो
दर्शनका ठेली र युगको प्रविधि घोक्नै पर्दैन
विश्व, परिवेश र जीवका चाहना बुझ्नै पर्दैन
आधारभूत आवश्यकताभन्दा माथि उठेर
भ्रष्टचारी, कालोबजारी र ठेकेदारलाई बचाइदिए पुग्छ
चुनावभरी मासुभात र रक्सी पिलाइदिए पुग्छ
बाउबाजेको अलिअलि पुख्र्यौली पनि छदै छ
नेता, माफिया र दललाई पनि बसमा पार्छौ भने
तिमी राजनीति गर ।।

राजनीति गर
त्रुटिपूर्ण निर्णय र गल्ती बोले सच्याई दिए पुग्छ
पेशामा निपूण र विपक्षीलाई पच्काई दिए पुग्छ
राष्ट्र, समृद्धि र दीगो विकासको भाषण गर्दै
एक पटक राजनीतिक पदमा पुग्यौ भने त
ढिकुटीको तालासाँचो आफ्नै र आफन्तकै त हो नि
सीपमूलक पेशा  नै नगरी इज्जतदार र
व्यवसाय नै नगरी धनवान बन्न
तिमी राजनीति गर ।।

राजनीति गर !
बेरोजगार युवालाई अघिपछि  लगाएर
दुई चार जना खुँखारहरुलाई जेलमुक्त गराएर
काम गर्ने नेता हो भन्ने छाप बनाउनै पर्छ
नेता र बिचौलियाको ढोका कुरेर सफल हुँदै
तिमी राजनीतिमा आउनै पर्छ
पटकपटक दल”बदल र गठबन्धन गर्दै
जीवनपर्यन्त ताज पहिरिएर राज गर्न पाउँछौ
नातेदार, आफन्त र परिवारलाई खानदानी बनाउछौ 
अलिकति खर्च हुन्छ त चुनाव अगाडि
जीतपछि त कानूनले नै नछुने गरी कमाउछौ
तिमी पछि तिम्रा सन्तानलाई पनि बनाउने हो भने
पेसा र व्यवसायले जीवनमात्रै चल्छ
तिमी राजनीति गर ।।

राजनीति गर !
त्यसैले यी सबै विकृतिलाई 
निमिट्यान्न पार्दै 
असल पक्षको नेतृत्व गर्दै
सुुसाशनलाई बढावा दिएर
प्रणालीमा आधारित नीतिको निर्माण गर्न 
तिमी राजनीति गर ।।

प्रतिक्रिया