नवाैं बृहत राष्ट्रिय खेलकुद

पेनाल्टीमा आर्मीलाई हराउँदै एपीएफलाई स्वर्ण

पाेखरा। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ।

बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई सडन डेथमा ६–५ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो। थप समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा आर्मीका लागि नवयुग श्रेष्ठ र एपीएफका नविन लामाले पहिलो प्रहारमा गोल गरेका थिए। आर्मीका सेसेहाङ आङदेम्बेले दोस्रो प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाए। एपीएफका आवास लामिछानेले गोल गर्दै अग्रता दिलाए। जर्जप्रिन्स कार्कीले तेस्रो प्रहारमा गोल गरेका थिए। तर, एपीएफका सनिश श्रेष्ठको प्रहार आकासिएको थियो।

आर्मीका सिमान्त थापाले चौथौं प्रहारमा गोल गर्दा एपीएफका सुदीप सिख्राकारले पनि गोल गरे। आर्मीका विवेक बस्नेतले पाँचौ प्रहारमा सहजै गोल गरे।

सडन डेथमा आर्मीका विकास खवासले गोल गर्दा एपीएफका दीपेश धिमालले विकेश कुथुलाई बिट गरे। त्यसपछि आर्मीका सुमन अर्यालको प्रहार राजु नगरकोटीले रोक्दा विश्वास उदासले गोल गर्दै एपीएफको जित पक्का गरे।
 

प्रतिक्रिया