नवाैं बृहत राष्ट्रिय खेलकुद

अभ्यासको नतिजा नै प्याराग्लाइडिङमा अन्तिम नतिजा, निसिम सहभागी आर्मीलाई रजत

पोखरा। नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ प्रतिस्पर्धा गर्ने क्रममा ज्यान गुमाएका नेपाल आर्मीका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिने निर्णय भएको छ। यो स्पर्धामा निसिम सहभागी नेपाल आर्मीले रजत पदक जितेको छ। गण्डकी टिमले स्वर्ण जितेको छ। आठौं बृहत राष्ट्रियमा पनि निसिम सहभागी नेपाल आर्मीले रजत पदक जितेको थियो। 

नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार खेल स्थगित भएको अवस्थामा २८ असोजअघि तयारी उडानको नतिजालाई आधिकारीक मानेर पुरस्कार वितरण गरिएको हो। प्याराग्लाइडिङको ६ स्वर्णका लागि भएको स्पर्धामा गण्डकी र नेपाल आर्मीले ३–३ स्वर्ण बाँडेका छन्। 

निसिमको दुर्घटनामा निधन भएपछि नेपाल हवाई खेलकुद संस्थानले देशभरिको प्याराग्लाइडिङ उडान स्थगित गरेको थियो।

महासचिव रावत यस्तो अवस्थामा अभ्यासको नतिजालाई नै अन्तिम नतिजा मान्ने अन्तर्राष्ट्रिय प्रचलन अनुसार पदकको घोषणा गरिएको बताउँछन्। ‘हामीले २८ असोजमा घटना हुनुअघिको नतिजालाई अन्तिम नतिजा मानेका हौं,’ उनले भने। 
उनले निसिमको परिवारलाई घरमै गएर पुरस्कार प्रदान गर्ने बताए। 

प्रतियोगितामा क्रस कन्ट्रीतर्फ गण्डकीका विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित टिमले २७५० अंकसहित स्वर्ण पदक जितेको हो। 

नेपाल आर्मी क्लबका निसिम थापा, सुरज थापा, विजय दाहाल र विशाल जलारी सहभागी टिमले २५५५ दशमलव ९ अंकसहित रजत जित्यो। बागमती प्रदेशले क्रस कन्ट्रीमा कास्य पदक जितेको हो। बागमतीबाट कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरुले २१४८ दशमलव ३ अंक प्राप्त गरे। 

प्रतिक्रिया