नवाैं बृहत राष्ट्रिय खेलकुद

आकाशमा उडिरहने स्वेतालाई मोडल फिजिकको ताज

पोखरा। ४ वर्ष अघिसम्म उनको खुट्टा प्राय: आकाशमा मात्र हुन्थ्यो। तर, कोरोनाले उनको जीवनमा ठूलो उथलपुथल ल्यायो।

कुनै बेला इमिरेट्स एयरलाइन्समा एयरहोस्टेज रहेकी स्वेता कपाली नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पल्ट समावेश गरिएको महिला मोडल फिजिक प्रतिस्पर्धामा स्वर्ण जित्न सफल भएकी छिन्। 

उनले पहिलो सहभागितामै यो उपाधि जितेकी हुन्। नेपाल आर्मीबाट सहभागी स्वेताले यही प्रतियोगिताका लागि भनेर विगत २ महिनादेखि विशेष ट्रेनिङ गर्दै आइरहेकी थिइन। सन् २०१९ मा विश्व कोरोना संक्रमणले थलिएको बेला उनी सबै काम छोडेर घरमा बसेकी थिइन। लामो समय घरमा बसेका कारण तौल बढ्न थालेपछि आमा सरिता लामासँगै उनले जीम ‘ज्वाइन’ गरेकी थिइन। 

तौल घटाउने त्यही मोहले अहिले उनलाई देशकै सुन्दर शरीर भएको महिलाको उपाधि दिलाएको छ। 

‘म निकै खुसी छु। गुरु रुजेश शाही र प्रज्जवलमान शाक्यप्रति आभारी छु। परिवार तथा साथीहरूले हौसला बढाए,’ उनले जितको श्रेय सबैलाई दिँदै भनिन्, ‘यो मेडल म विशेष त बुवालाई सर्म्पण गर्न चाहन्छु।’

स्वेताका बुवा सुनिल कुमार कपाली पनि पूर्व बडिबिल्डर हुन्। उनले २०४५ सालमा काठमाडौंमा आयोजना भएको ‘मिस्टर भ्याली च्याम्पियनसिप’ मा नेपाल व्यायामबाट प्रतिनिधित्व गर्दै स्वर्ण जितेका थिए। ‘छोरीको सफलताले ‘सरप्राइज’ छु। उसले मिहिनेत गरेकी थिइ,’ काठमाडौंमा रहेका बुवा सुनिलले टेलिफोनबाट दृश्य टिभीलाई बताए। 

सुनिलको दुई जना छोरीमध्ये स्वेता कान्छी हुन्। जितपछि २८ वर्षीय युवतीले भनिन्, ‘म फिटनेशलाई करिअरको रूपमा अगाडि बढाउने सोचमा छु।’

छोरीको प्रदर्शन हेर्न पोखरा सभागृहमा उपस्थित भएकी आमा सरिता दंग देखिन्थिन्। ‘आफ्नो छोरा–छोरीले जितोस् भन्ने चाहना सबै आमाबुवाको हुन्छ। तर, उसले साह्रै मिहिनेत गरेकी थिइ,’ उनले भनिन्, ‘यसैको प्रतिफल हो। म निकै खुसी छु आज।’

बहिनीको प्रदर्शन हेर्न काठमाडौंबाट आएकी दिदी सुजना कपाली पनि सोमबार विजेताको घोषणा गर्दा उत्साही देखिएकी थिइन। ‘ओहो, मेरो खुसीको सिमाना नै छैन,’ उनले भनिन्। स्वेता कालिमाटीको डिभाइन जिममा अभ्यास गर्छिन्। उनका गुरु रुजेश शाही उसले जित्छे भन्ने पहिले नै अनुमान गरेको बताउँछन्। ‘गर्छु भनेपछि जिद्धि गर्ने स्वभावले उनलाई यहाँ पुर्याएको हो,’ उनले भने। 

सोमबार शारीरिक सुगठनको अन्तिम दिन महिला मोडल फिजिकमा दोस्रो बाग्मती प्रदेशकी रोजिना खायामाली भएकी थिइन। उनले रजत पदक जितिन्। कास्य पदक नेपाल पुलिस क्लबकी सनम मुल्गुथीको नाममा रह्यो। 
  

प्रतिक्रिया