रावलले हल्लाए होली वाईनको ग्लास, ओलीमाथि प्रश्नैप्रश्न

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक ढुलमुले नीति अंगिकार गरेका नेताका रुपमा उनकै दलका नेता भीम रावलले विभिन्न आरोप लगाएका छन्। निर्वाचन जित्ने कुरा निश्चित रहेको बुझेपछि आफूलाई ओलीले उम्मेदवारी दिनबाटै बञ्चित गरेको दावी गरेका नेता रावलले नेतृत्वबाटै पार्टीको विधिविधान र नियम कानुनको उल्लंघन भएको आरोप लगाएका छन्। 

बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरेर नेता रावलले अध्यक्ष ओलीसँग कैयौं नैतिक र सैध्दान्तिक प्रश्न तेर्स्याए।

अछाम–१ बाट प्रतिनिधि सभा सदस्यका लागि एकल सिफारिस भएपनि अध्यक्ष ओलीले टिकट नदिएपछि उनले नेतृत्वप्रति आरोप र प्रश्नको वर्षा गराएका छन्।

नेता रावलले अध्यक्ष ओलीकै स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीको एकतामा गम्भीर आघात पुगेको बताए। उनले फरक मत राखेकै कारण नेतृत्वले आफ्नो टिकट खोसेर पार्टीभित्र योगदान नै नभएकालाई टिकट दिएर अन्याय गरेको बताए। ‘यसले सुदूरपश्चिम प्रदेश, अछाम जिल्लाका जनता र पार्टी संगठनमा रहेका नेता र कार्यकर्ताको घोर अपमान भएको छ। पार्टीको हित र एकतामा आघात पुर्याएको छ,’ उनले भने।  

रावले उम्मेदवार हुने नहुने अथवा पदमा जाने नजाने भन्नेबारे विषयलाई प्रमुख नठानेको बताए। ‘पार्टीको नीति, विधि, सिद्धान्तको अनुशरण भयो कि अवज्ञा भयो भन्ने हो,’ रावलले भन्दै रावलले आफूलाई टिकट नदिन पार्टी कार्यक्रममै रहेका बेला सम्पर्कविहीन भएको भनेर कुप्रचार गरेको देखि अध्यक्षसँग माफी मागेपछिमात्रै टिकट दिने भन्ने सुनिएको बताए।

निर्वाचनका सम्बन्धमा रावलले अध्यक्ष ओलीमाथि लगाएका मुख्यमुख्य आरोप र प्रश्नहरु यस्ता छन्ः 

१. युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनेर चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने,

२. निरंकुश व्यवस्थामा नेकपा एमालेका नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंडामा उम्मेदवार बनाउने, 

३. आफैंले प्रतिक्रियावादी भनेको राप्रपा तथा अध्यक्ष ओली र माधव नेपालको राजविराजमा हत्यासमेत गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिन एवं एमालेलाई नश्लवादी जसपासँग चुनावी साँठगाँठ गर्ने, 

४. लोसपाका मानिसहरुलाई बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने, 

५. धन र सत्ताका अनेकौं कर्म र कुकर्म गरेकालाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त विधि अनुशासनभित्र पर्छ? के यस्तै पार्टी र व्यक्तिहरुलाई प्रश्रय दिएर समाजवाद आउँछ? जबज यही हो? यस्ता व्यक्तिहरुको पार्टी निर्माणमा म र देशभर चित्कार गरिरहेका एमालेका  नेता र कार्यकर्ताहरुको भन्दा बढी योगदान छ र? 

६. नयाँलाई प्राथमिकता दिने भन्ने हो भने अध्यक्ष ओली निकटकाहरुमा लागु भएको खोई? 

७. पार्टी अध्यक्षकै कुरा गर्दा संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेको बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, 

८. झन्डै दुई तिहाईको सरकार हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताको हित र सरोकारको विषयमा निरन्तर संसद र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले, क्षेत्र जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदापनि उम्मेदवार हुन नपाउने किन?

९. पार्टीको अनुशासन, सिद्धान्त र विधिको कुरा गर्ने हो भने, पार्टीले प्रतिक्रियावादी भनेका र नेपाली समाजले कुपात्र ठानेका व्यक्तिहरु पार्टीको कुन अनुशासन, विधि र पद्धतिका रक्षक हुन् र? 

१०. कम्युनिस्ट र एमालेका सिद्धान्त र कार्यक्रममा विरोधीहरुसँग मिलेर सरकार बनाउने र निर्वाचनमा पनि त्यस्तैसँग मिलेर जनतासँग मत माग्ने राजनीतिक बाटो अंगिकार गर्न पार्टी महाधिवेशनले दिशानिर्देशन गरेको छ र? 

११. मनपरी गर्ने हो भने पार्टीलाई माक्र्सवादी लेनिनवादी किन भन्ने? के सत्तास्वार्थीमा उक्त किसिमकै क्रियाकलापका लागि झापा सुखानीको जंगलमा क्रान्तिकारीहरु नझुकेर शहीद भएका थिए त?

प्रतिक्रिया