समाचार विश्लेषण

 कांग्रेस कलहः तीन डाक्टर रोक्ने दुइ डाक्टर को हुन् ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुइजना डाक्टरको दवावमा तीनजना डाक्टरलाई उम्मेदवार नबनाएको थाहा भएको छ। नेतृत्वको आलोचना गरेको अभियोग लगाएर ती तीन डाक्टरलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने अवसरबाट बञ्चित गरेर दण्डित गरिएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताएका छन्। 

उम्मेदवार बन्ने अवसरबाट बञ्चित गरिएका तीन डाक्टरमा मिनेन्द्र रिजाल, स्वर्णिम वाग्ले र गोबिन्द पोखरेल हुन्। उनीहरुलाई उम्मेदवार नबनाउन दवाव दिने दुइ डाक्टरमा सभापतिकी अर्धाङ्गिनी डाक्टर आरजु राणा र घनिष्ठ सल्लाहकार डाक्टर प्रकाशशरण महत हुन्।

कतिपय राष्ट्रिय मुद्दामा मिनेन्द्र रिजालले निवर्तमान प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रतिष्ठा जोगाएको भनेर उनको प्रशंषा गरिएको थियो। प्रधानमन्त्री र उनकी पत्नी आरजुका कतिपय कामप्रति नेता रिजालले आलोचना गरेको कुरालाई ठूलै मुद्दा बनाएर यसपटक उनलाई रोकिएको जानकार सूत्रहरु बताउँछन्। रिजाल गएको निर्वाचनमा मोरङको दुइ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले जित्दै आएको सो निर्वाचन क्षेत्रमा यसपाली उनकै छोरी सुजातालाई उम्मेदवार बनाईएको छ।

स्वर्णिम वाग्ले काठमाडौं या चितवनबाट उम्मेदवार बन्ने निश्चित जस्तै मानिएको थियो। बलियो उम्मेदवार भनेर निकै चर्चा कमाएका वाग्लेलाई रोक्न सभापति देउवालाई घेरेर बसेका मानिसहरुले नै योगदान गरेको बुझिएको छ। वाग्ले प्रतिनिधिसभामा चुनिएर आए भने आफ्नो भाग खोसिन्छ भनेर तर्सिएका ती व्यक्तिकै सुझावमा आरजूले सभापति देउवालाई दवाव दिएको बताईन्छ। खासगरी प्रकाशशरण महत र उनका वरिपरि झुम्मिएर बस्ने समूहले नै यस्तो षड्यन्त्र गरेको जानकार सूत्रहरु बतउँछन्। 

गोबिन्द पोखरेलले पनि यस्तै कारणले उम्मेदवार बन्ने अवसर नपाएको बुझिएको छ।  

यी तीन डाक्टरहरुलाई उम्मेदवार बनाउने बिषयमा नेता शेखर कोइरालाले समेत पर्याप्त चासो नदिएको बुझिएको छ। कोइरालाले सभापति देउवासँग गम्भीर वार्ता गरेका भए यी तीनैजनाले उम्मेदवार बन्नबाट हात धुनु नपर्ने बताईन्छ। नेता रिजाललाई रोकेर सुजातालाई उम्मेदवार बनाउनमा सभापति देउवाको विशेष अभिरुची रहेको थाहा भएको छ। उनले कोइराला परिवारबाट आउन सक्ने चुनौतिहरु साम्य पार्न पनि रिजाल र सुजातामध्ये सुजाता रोजेको बुझ्न सकिन्छ।

यसको असरले नेता शेखरलाई समेत छुनसक्ने सम्भावना देखिएको छ। सभापति देउवा आगामी निर्वाचनपछिको परिस्थितिमा संसदीय दलमा कसैले चुनौति नदेओस् भन्ने चाहन्छन्। शेखरको सम्भावित विजय देउवाका लागि चुनौति हुनसक्ने प्रवल सम्भावना रहने छ। नेता रिजाललाई रोकेर सभापति देउवाले भावी राजनीतिको मार्गमा आउनसक्ने अवरोधलाई अहिले नै व्यवस्थापन गरेको हुनसक्ने देखिन्छ।  

स्वर्णिम वाग्ले समकालिन राजनीतिमा तुलनात्मक रुपमा क्षमतावान भएकाले सांसदका हैसियतमा उनको उपस्थितिले धेरैको भाग खोसिने खतरा रहन्थ्यो। राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो योग्यता प्रदर्शन गरिसकेका वाग्लेलाई भावी अर्थमन्त्रीका रुपमा समेत हेरिने गरिएको थियो। उनको उपस्थितिले नेतृत्वको परिक्रमा गरेर राजनीति धानीरहेको वर्ग र नीतिगत विचलनबाट लाभ उठाईरहेको घरानाहरुको स्वार्थमा धक्का पुग्ने प्रवल सम्भावना देखेर पनि उम्मेदवार बन्नबाट बञ्चित गरिएको विश्लेषकहरु बताउँछन्।
 

प्रतिक्रिया