क्यानडामा नर्स र डाक्टरकाे अभाव

काठमाडौं। १६ वर्षयता क्यानडामा चिकित्सकहरुकाे संख्यामा अभाव देखिएकाे छ। यसले क्यानडाकाे स्वास्थ्य अवस्थामा गम्भीर चुनाैति देखा परेकाे र यो राष्ट्रिय संकटतर्फ ढल्किन थालेकाे बताइएकाे छ।  

आपतकालीन अवस्थामा चिकित्सकहरुकाे अभाव हुँदा यतिबेला बिरामीले उपचारका लागि १०० देखि १२५ घण्टासम्म कुरेर बस्नुपर्ने अवस्था छ। ट्रमामा पनि बिरामीले ४ दिनसम्म कुर्नुपर्ने अवस्था सिर्जना भएकाे छ। 

क्यानडामा स्वास्थ्यकर्मीकाे ठूलाे अभाव देखिएकाे छ। यही अभावका कारण प्राथमिक चिकित्साबाट ठिक हुनसक्ने बिरामीमा गम्भीर समस्या देखिन थालेकाे छ। क्यानडामा हाल ७५०० डाक्टरहरुकाे अभाव छ। ओन्टारियोका आपतकालीन चिकित्सक डाक्टर रघु वेणुगाेपाल याे समस्यालाई राजनीतिकरण मान्छन्। उनी भन्छन्, ‘ओन्टारियाेमा २० भन्दा बढी इमरजेन्सी डिपार्टमेन्ट कर्मचारीकाे अभावमा बन्द छ। तर स्वास्थ्य मन्त्री यसलाई कुनै संकट नै मान्दैनन्। याे गलत हो।’

क्यानडाकाे मेडिकल संघले पनि यसलाई राष्ट्रिय संकट मानेकाे छ। प्रदेश नेताले पनि स्वास्थ सेवामा कर्मचारीकाे अभावलाई लिएर आवाज उठाएका छन्। जुलाईमा भएकाे मन्त्रीहरुकाे सम्मेलनमा स्वास्थ्य बजेट २२ प्रतिशतबाट ३५ प्रतिशत पुर्याउने प्रस्ताव भएकाे थियो। तर प्रधानमन्त्री जस्टिन ट्रुडो यस वर्ष स्वास्थ्यका लागि छुट्याइएकाे ३ दशमलव ७० लाख कराेड रुपैयाँकाे परिणाम पहिले सकारात्मक हुनुपर्ने बताउँछन्। यसअघि पनि सरकारले स्वास्थ्यमा निकै लगानी गरेकाे तर आवश्यक सुधार नभएकाे उनकाे भनाई छ। 

स्वास्थ्य मन्त्री जिन–यवेस डुक्लाेस स्वास्थ्यस्थिति विस्तारै सुधार हुने दावी गर्छन्। क्यानडामा सरकारले सत्ता सम्हाल्ने वित्तिकै सबै प्रान्तलाई २ दशमलव ६२ लाख कराेड रुपैयाँ बिनियाेजन गर्ने आश्वासन दिएकाे थियो। यसबाटै ७५०० फेमेली डाक्टर र नर्सकाे नियुक्ति गर्नुपर्ने हाे।  

पत्रकारहरुकाे आराेप छ कि, स्वास्थ्य मन्त्री गैरजिम्मेवार भइरहेका छन्। सन् २००६ पछि क्यानडामा पहिलाे पल्ट इमरजेन्सी वार्ड बन्द हुने अवस्थामा छ। नर्सकाे अभावमा ओन्टारियाेमा १६ वटा इमरजेन्सी विभाग बन्द गर्नु परेकाे थियो। यस्तै न्युफाउल्याण्ड र लेब्राडाेरमा ३ लाखभन्दा बढी जनसंख्यामा एक मात्र सामुदायिक अस्पताल १ जुलाईदेखि २९ अगस्टसम्म बन्द थियो। 

स्वास्थ्य मन्त्री जिन–यवेस डुकाेल्सले गत महिना चिफ नर्सिङ अफिसर नियुक्त गर्ने घोषणा गरेका छन्। याे पद सरकारले १० वर्षअघि खारेज गरेकाे थियो। 

 

 

 

प्रतिक्रिया