शेखर कोइरालालाई प्रकाशशरणको धम्की, कांग्रेसका नाममा बन्धक बन्यो गठबन्धन 

काठमाडौं। पाँच दलीय गठबन्धनका सदस्यहरुले नेता शेरबहादुर देउवासँग नेपाली कांग्रेसको आन्तरिक विवाद के हुन्छ भनेर बारम्बार प्रश्न तेस्र्याएपछि सिट बाँडफाँडको बिषय निर्णयमा पुग्न सकेको छैन।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सय सिट नपाए एक्लै निर्वाचनमा प्रतिष्पर्धा गर्न तयार हुनुपर्ने भन्दै पार्टी नेतृत्वमाथि दवाव बढाएपछि गठबन्धनका सदस्य दलका नेता झस्किएका छन्। शेखरको दवावले गर्दा सभापति देउवाले गठबन्धन बैठकमा ठोस प्रस्ताव राखिहाल्न आँट नगरेको बुझिएको छ। देउवाले ८५ सिटमा सहमति जनाउने संकेत दिएपनि निर्णय नै हुनभने सकेको छैन। अरु दलहरुले दावी गरेअनुसार नै सिट संख्या पाउने लगभग पक्का भएपनि नेपाली कांग्रेसको आन्तरिक विवाद नै गठबन्धन बैठकको तगारो बनेको देखिएको छ।

यता गठबन्धन बैठकमा समेत आफूलाई निर्णय गर्न वाधा पुर्याएको भन्दै सभापति देउवाले नेता शेखरलाई तर्साउन विभिन्न यन्त्रहरु परिचालित गरेका छन्। पार्टीको पदाधिकारी बैठक राखेर गठबन्धनको निर्णयमा वाधा पुग्नेगरी कसैले क्रियाकलाप गरेमा अनुशासनको कार्बाही गरिने छ भनेर चेतावनीको सन्देश प्रवाह गरिएको छ।

यतिमात्र होइन, सभापति देउवाका ‘भरोसायोग्य सल्लाहकार’ भनिने गरेका प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन नै गरेर शेखरका गतिविधिलाई नजिकबाट नियाली रहेको र आवश्यक परे अनुशासनको कार्बाही समेत गरिने धम्की दिएका छन्।

यता नेता शेखर कोइराला भने पार्टीलाई गठबन्धनका नाममा खुम्च्याएर निर्वाचनमा जान आफू तयार नभएको बताईरहेका छन्। उनले सभापतिले आफूखुशी निर्णय गरे भने त्यसलाई मान्न वाध्य नहुने भनेर चेतावनी दिएका छन्। सिट बाँडफाँडको बिषयलाई लिएर नेपाली कांग्रेसभित्रै चर्को विवाद चलिरहेकाले गठबन्धनलाई अन्तिम निर्णय गर्न सकस परिरहेको छ। यही कारण हरेक दिनको बैठक अर्को बैठक बस्ने निर्णय गर्दै स्थगित हुँदै आएको छ।

बालुवाटार सूत्रका अनुसार, गठवन्धन आवध्द पाँच दल देशभरका निवाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन्।

सिट बाँडफाँटलाई अन्तिम रुप दिन भनेर आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको छ। बैठकमा यसअघि गठन भएको पाँच दलका नेताहरु सहभागि कार्य दलले सहमति प्रस्ताव पेश गरेको छ। उक्त प्रस्तावमा शीर्ष नेताहरुमा सहमति जुटेपछि आजै साँझ नभए भोलिसम्म सहमति सार्वजनिक गरिने बताइएको छ।

कांग्रेस नेता कृष्ण प्रसाद सिटौल नेतृत्वको कार्यदलले प्रतिनिधिसभामा र प्रदेशसभामा पाँच दलबीच कुन क्षेत्रमा कुन दलले उम्मेदबार दिने भन्ने खाका तयार गरेको छ । जस अनुसार प्रत्यक्षमा नेपाली कांग्रेस लगभग ९० सिट, नेकपा माओवादी केन्द्र ४०, जनता समाजवादी पार्टी १५, नेकपा एकिकृत समाजवादी १५ र जनमोर्चाले २ सिट लिने प्रस्ताव तयार भएको छ।

झण्डै १५ सिटमा सहमति हुन नसक्दा त्यस बिषयमा पनि कार्यदलले बैकल्पिक प्रस्ताव सहित शीर्ष नेताहरुको बैठकमा सहमतिका लागि पेश गरेको छ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरु निर्णयक छलफल लामो समयदेखि छलफलमा बस्दै आएका छन्।

दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरुलाई दशैंअगाडि नै बाँडफाँडको टुंगो लगाएर उम्मेदवार चयन  गरिसक्नुपर्ने वाध्यता छ।

गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सिटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँटबारे कार्यदलले आइतबार र सोमबार छलफल गरेर त्यसबारे भएको सहमति शीर्ष नेताहरूलाई बुझाएको थियो।
 
 

प्रतिक्रिया