अञ्जनकाे अन्तर्राष्ट्रिय फुटबलमा १० गाेल पुरा, बंगलादेशविरुद्ध ह्याट्रिक

काठमाडौं। अञ्जन विष्टकाे ह्याट्रिककाे सहयाेगले नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ गाेलकाे फराकिलाे अन्तरले पराजित गरेको छ।

मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अञ्जनले पहिलाे हाफमै ह्याट्रिक गरे। अञ्जनकाे अन्तर्राष्ट्रिय खेलमा याे १० औं गाेल हाे। उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी पनि बनेका छन्। यसअघि नेपालका लागि गणेश थापा, निराजन रायमाझी, नरेश जोशी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए। 

अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरे। विमल घर्तिमगरको फ्रिकिकमा उनले हेडमार्फत गाेल गरेका थिए। उनले खेलको २७ मिनेटमा दोस्रो गाेल गरे। उनले तेज तामाङको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले पञ्च गरेर ‘रिबाउन्ड’ आएकाे बलमा गाेल गरे। उनले ३८ मिनेटमा ह्याट्रिक गरे। विशाल राईको फ्रिकिकमा सिक्सयार्ड बक्समा ‘अनमार्क’ रहेका अञ्जनले तेस्रो गोल गरे।

बंगलादेशले दोस्रो हाफमा गोल फर्कायो। बंगलादेशका लागि साजाद हुसेनले ५५ मिनेटमा गोल गरेका थिए।

बंगलादेशविरूद्ध दुई खेलाडी ८१ मिनेटमा ऋतिक खड्का र आशिष चौधरीले डेब्यु गरे। ऋतिक सेसेहाङ आङदेम्बेकाे स्थानमा र आशिष विमल घर्तिमगरको स्थानमा मैदान प्रवेश गरेका थिए। 

प्रतिक्रिया