अंकिता भण्डारी ‘हत्याकाण्ड’ मा प्रमाण नष्ट गर्न बुल्डोजर चलाइएकाे आराेप

काठमाडौं। नेपाली भाषी अंकिता भण्डारीको भारत उत्तराखण्डमा भएको हत्यामा प्रमाण नष्ट गर्न रिसोर्टमा बुल्डोजर चलाइएको स्पष्ट भएको छ। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा कांग्रेसका नेता हरिश रावतले प्रमाण मेटाउन स्थानीय सरकारले हरसम्भव प्रयास गरेको आरोप लगाएका छन्। 

उनले अंकिताको घरमा पुगेर आफूहरू परिवारको समर्थनमा रहेको बताए। उनले आरोपीलाई समात्न प्रशासनले ४ दिन लगाएको र अंकिताको शव नहरबाट बाहिर निकाल्न ७ दिन लगाएको आरोप लगाए। 

अंकिताको पोस्टमार्टम हुँदा महिला डाक्टर समावेश नभएको र रिसोर्टको सीसीटिभीको तार काटेर प्रमाण नष्ट गर्न खोजिएको आरोप पनि लगाइएको छ। 

उत्तराखण्डको सानो गाउँ डोभ श्रीकोटमा बसोबास गर्ने अंकिताले २० दिनअघि मात्र ऋषिकेशको बनन्तरा रिसोर्टमा रिसेप्सनिष्टको जागिर पाएकी थिइन। उनले पहिलो महिनाको तलब पनि थाप्न पाइनन्। 

उनलाई रिसोर्टका मालिकहरूले जबरदस्ती धन्दामा लगाउन खोजेका थिए। तर, उनले प्रतिकार गरेपछि मारेर नहरमा फ्याकिएको थियो। 

यो पुरै घटनामा सत्तारुढ भारतीय जनता पार्टीका पूर्व मन्त्री विनोद आर्यको छोराहरू संलग्न थिए। पिताले नै छोराहरूलाई हत्याको आरोपबाट बचाउन प्रशासनलाई दबाब दिएको पूर्व मुख्यमन्त्री रावतको आरोप छ। 

अंकिताको गाउँमा ५० जना मात्र बसोबास गर्छन। १९ वर्षीय अंकिता गाउँमा सबैभन्दा बढी पढेकी युवती हुन्। उनले होटल म्यानेजमेन्टमा ‘प्लस टु’ गरेपछि रोजगारीका लागि ऋषिकेश पुगेकी थिइन। उनी अझै पढ्न चाहन्थिन्। 

उनले १० किलोमिटर टाढा पर्ने स्कुल हिँडेर पढाईं पुरा गरेकी थिइन। आइतबार ८ घण्टा लामो प्रदर्शनपछि उनको अन्तिम संस्कार गरिएको थियो। 

अंकिता भण्डारीको ‘हत्याकाण्ड’ ले उत्तराखण्ड तरंगित
 

प्रतिक्रिया