अंकिता भण्डारीको ‘हत्याकाण्ड’ ले उत्तराखण्ड तरंगित

काठमाडौं। भारतको उत्तराखण्डमा नेपाली भाषी एक युवती अंकिता भण्डारीको ‘हत्याकाण्ड’ को घटनाले पुरै राज्य तातिएको छ। यो ‘हत्याकाण्ड’ मा राज्यका पूर्वमन्त्री विनोद आर्यको छोरा पुलकित संलग्न छन् भने उनलाई निर्दोष प्रमाणित गर्न विभिन्न हत्कण्डा सुरु भएको भन्दै स्थानीयहरू रुष्ट छन्। 

१९ वर्षकी अंकिता पुलकित आर्यको रिसोर्टमा ‘रिसेप्सनिष्ट’ को रूपमा कार्यरत थिइन। शुक्रबार राती पुलकितको रिसोर्टलाई स्थानीय प्रशासनले बुलडोजर लगाएर भत्काइसकेको छ। रिसले आगो भएका स्थानीयले शनिबार रिसोर्टमा आगो लगाइदिएका छन्।  

आइतबार अंकिताको पोस्टमार्टम रिपोर्टमा उनको निधन पानीमा डुबेर भएको देखाइएको छ। शरीरका अन्य भागमा दाग देखिएपछि उनको ‘हत्या’ पहिले कुटपिट, त्यसपछि पानीमा धकेलेर भएको हुनसक्ने आशंका गरिएको छ। 

उनलाई कुनै मोटो चिजले पहिले हिर्काएको आशंका प्रहरीको छ। रिपोर्टमा उनको बलात्कार वा यौनसम्बन्धि अन्य कार्य भएको भन्ने स्पष्ट पारिएको छैन। यसले थप आशंका उब्जाएको छ। परिवारले अहिलेसम्म उनको अन्तिम संस्कार गर्न अस्विकार गरेका छन्। अंकिताका पिताले पूनः पोस्टमार्टम हुनुपर्ने भन्दै प्रशासनलाई दबाब दिएका छन्। 

‘हत्या’ मा हालसम्म तीन जना गिरफ्तार भएको प्रहरीले जानकारी दिएको छ। अंकिताको शव शनिबार बिहान बरामद भएको थियो। यो घटनाका कारण भारतीय जनता पार्टीले हत्याका मुख्य आरोपी पुलकितको पिता विनोद आर्यलाई शनिबार नै पार्टीबाट बर्खास्त गरिसकेको छ। आर्य भाजपाको ओबीसी मोर्चाको राष्ट्रिय कार्यकारिणी सदस्य तथा युपीको सह–प्रभारी थिए।
ankita1पुलकितको भाई अंकित आर्यलाई पनि भाजपाले उत्तराखण्ड ओबीसी कल्याण्ड आयोगको उपाध्यक्ष पदबाट हटाएको छ। उनलाई राज्यमन्त्रीको दर्जा प्राप्त थियो। 

रिसोर्टका एक कर्मचारी मनवीर सिंह चौहानले अंकिता बेपत्ता हुनुअघि उनले १८ सेप्टेम्बरको राती रुदै रिसोर्टका शेफलाई फोन गरेको बताएका छन्। उनले फोनबाट आफ्नो ब्याग बाहिर ल्याउन भनेकी थिइन। तर, ब्याग लिएर बाहिर आउँदा कोही नभएको चौहानले बताए। 

अंकिता अचानक हराएपछि परिवारले प्रहरीमा उजुरी दर्ता गराएका थिए। प्रहरीले कर्मचारीसँगको सोधपुछमा अंकिता १७ सेप्टेम्बरको राती करिब ८ बजे पुलकित आर्य, रिसोर्टको मेनेजर सौरभ भास्कर र अंकितसँग ऋषिकेश गएको पत्ता लागेको थियो। 

फर्किने बेला तीन जना आरोपीले चीला रोडको छेउमा बसेर रक्सी पिएको र उनीहरू रक्सी पिउन व्यस्त रहँदा अंकिताले अर्को ठाउँमा बसेर प्रतिक्षा गरेको प्रहरीको दावी छ। रक्सी पिएपछि उल्टै अंकितासँग भनाभन भएको र यति नै बेला उनको हातबाट मोबाइल छिनेर नहरमा फ्याकिदिएको प्रहरी रिपोर्टमा उल्लेख छ। झगडा बढ्दै जाँदा अंकिताले रिसोर्टमा हुने गरेको अनैतिक गतिविधि बाहिर ल्याउने चेतावनी दिएको र यही रिसमा उनलाई कुटपिट गरेर नहरमा फ्याकेको आशंका गरिएको छ।

बलात्कार वा यौनसँग सम्बन्धित अन्य कुरा प्रहरीले बाहिर ल्याएको छैन। 

आशंकाको आधारमा प्रहरीले पुलकितलाई सोधपुछ गर्दा उनले अंकिताको मानसिक अवस्था कमजोर रहेको बताएका थिए।

उनले रिसोर्टमा पनि उनी एउटा कोठामा गुम्सिएर बस्ने गरेको झुटो बयान दिएका थिए। उनले यही कारण आफ्नो साथीहरूले १८ सेप्टेम्बरमा उनलाई ऋषिकेश घुमाउन लगेको बताए। उनले घुमेर रिसोर्टमा फर्किएपछि सबै जना आ–आफ्नो कोठामा गएको तर १९ सेप्टेम्बरको बिहान अंकितालाई उसको कोठामा हेर्दा गायब भएको बताएका थिए। 

प्रहरीले अनुसन्धानका क्रममा पुलकितको यो बयान झुटो भएको तथ्य बाहिर ल्याएको थियो। सीसीटिभी फुटेजमा पनि ४ जना बाहिर निस्किएको र फर्किदा ३ जना मात्र देखिएका थिए। 

अंकिताको शव पुलकितको रिसोर्ट नजिकैको नहरमा फेला परेको थियो। प्रहरीले आशंकाको आधारमा पुलकितसँग पुनः सोधपुछ गर्दा उनले गंगामा ढकेलेको कुरा स्विकार गरेका थिए। बयानको आधारमा प्रहरीले नहरमा गोताखोर छिराएर शव बरामद गरेको थियो। 

ankita2

शुक्रबार आरोपीलाई अदालतमा पेश गर्न प्रहरीले लैजादै गर्दा गाउँलेहरूले बीच बाटोमा रोकेका थिए। गाउँलेहरूले बैराज पुलको अगाडि कोडियामा प्रहरीको गाडी रोकेर तीन जना आरोपीलाई कुटेका थिए। पछि प्रहरीले स्थितिलाई सामान्य बनाए। 

अहिले अंकिताको एउटा च्याट सार्वजनिक भएको छ। उनले च्याटमा आफ्नो साथीलाई लेखेकी छिन्, ‘रिसोर्टमा भिआइपी गेस्टलाई स्पा सर्भिसका लागि दबाब दिने गरिन्छ।  मसँग पनि जबरदस्ती गरियो। मलाई यौनकर्मी बनाउन १० हजार रुपैयाँको लोभ देखाइरहेका छन्। उनीहरूले गेस्टलाई कसरी ह्ण्डल गर्ने मेरो काम भएको नभए जागिरबाट हटाउने धम्की दिएका छन्।’


 

प्रतिक्रिया