कमल थापाद्वारा ओलीको प्रसंसा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक जोगाउन महाधिवेशनबाट साहसिक निर्णय गर्न नेकपा एमालेलाई आह्वान गरेका छन् । शुक्रबार चितवनको भरतपुरमा नेकपा एमालेको महाधिवेशनको सफलताको शुभकामना दिँदै अध्यक्ष थापाले देश संकटको भूमरीमा परेका बेला साहसिक निर्णय गर्न आह्वान गरेका हुन् ।

उनले भने,‘महाधिवेशनले साहसिक निर्णयको अपेक्षा गरेको छ । केपी ओली जस्तो दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले देशलाई संकटबाट मुक्त गर्न ऐतिहासिक निर्णय गर्न सक्नेछ ।’ अध्यक्ष थापाले आफूले विगतमा केपी ओली सरकारमा सहभागी भएर काम गरेको अनुभव सुनाउँदै उनको प्रसंसा गरे ।

उनले भने,‘विगतभमा केपी ओली सरकारसँग काम गर्दा देशमा आन्दोलनको आगो बलेको थियो । नाकाबन्दीले देश र जनताले अप्ठ्यारो झेल्नुपरकोे थियो । केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर नाकाबन्दी अन्त्य गर्न सफल भएको हो । मधेशमा बलेको आगो मत्थर पार्न सफल भएको हो । चीनसँग व्यापार पारबहन सम्बन्धी सम्झौता गरेको र अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको पहिचान बनायौं ।’

उनले पछिल्लो पटक ओलीले नेतृत्व गरेको सरकारबाट भने आफू सन्तुष्ट नरहेको बताए । उनले केपी ओली र एमालेलाई देश र जनताले दुई कारणबाट सम्झिरहने भन्दै उनले भने,‘ दुई कारण केपी ओली र एमालेलाई देश र जनताले सम्झनेछन् । पहिलो काम मधेशमा देखापरेका पृथकतावादी आन्दोलन र विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन महत्वपूर्ण काम गरेको छ । लिम्पियाधुरासमेत समेटेर नक्सा जारी गरेर सीमाको रक्षाका निमित्त प्रतिवद्धता व्यक्त गरेको छ । र त्यसलाई संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाएको छ । यसबाट देश र जनताले तपाइँहरुलाई कहिल्यै बिर्सदैन।’

उनले लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद तर्फ उन्मूख भइरहेको र योजनावद्ध रुपमा हुँदै आएको तथा धर्म परिवर्तनले नेपालीको पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन एमालेलाई आग्रह गरे ।


 

प्रतिक्रिया